ल्हासास्थित महावाणिज्यदूत हरि बस्यालका अनुसार अगस्ट पहिलो साता उद्घाटन गर्ने तयारी भइरहेको ल्हासा–सिगात्से रेलमार्गले नेपाल–चीन व्यापार केही सहज हुनेछ। ‘पञ्च वर्षीय योजनामै पर्ने भएपछि सिगात्सेबाट रेलमार्ग केरुङसम्म जाने अब पक्का भयो’, बस्यालले तिब्बतको नयाँ योेजनाबारे भने, ‘नेपालले औपचारिक आग्रह गरे केरुङबाट नेपालसम्म लैजान पनि चीन सकारात्मक देखिन्छ ।’
तिब्बत रेलवेका उपप्रमुख याङले ल्हासाबाट निङ्ची तथा पूर्व एसिया जोड्ने अर्को खण्ड पनि चाँडै निर्माण शुरु हुने जनाएका छन् । चीन–भारतबीच सिमा विवाद रहेको निङची तथा भुटान र भारतको सिक्किम नजिक पर्ने यादुङ भूरणनीतिक महत्वका क्षेत्र हुन् ।
चीन र भारतबीच सिमा समस्या जटिल भएकाले हिमाली क्षेत्रमा रेल तथा सडकमार्गको विस्तार चुनौतीपूर्ण बन्दै आएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीले सञ्चालन गरेको ग्लोबल टाइम्स दैनिकले दक्षिण पश्चिम तिब्बतको पहिलो खण्ड ल्हासा–सिगात्से रेलमार्ग तिब्बती बौद्ध नेता पञ्चेन लामाले अर्को महिना औपचारिक उद्घाटन गर्ने बिहिबार जनाएको छ । तिब्बतको दोस्रो ठूलो शहर सिगात्से तिब्बती बौद्ध परम्पराका दोस्रो उच्च धार्मिक नेता पञ्चेन लामाको गृहनगर हो ।
ल्हासा–सिगात्से खण्डको निर्माण सेप्टेम्बर २०१० मा शुरु भएको थियो । यो चिङहाईको सिनिङबाट शुरु भएर २००६ मा ल्हासा जोडिएको चिङहाई–तिब्बत रेलमार्गको पहिलो विस्तार हो । ३६००–४००० मिटर उचाईमा निर्माण गरिएको ल्हासा–सिगात्से खण्डमा १४ वटा स्टेशन छन् । यो खण्डमा प्रतिघण्टा १२० किलोमिटर गतिमा रेल दौडने बताइएको छ । सात घण्टा लामो ल्हासा–सिगात्से सडकमार्ग रेलबाट दुई घण्टामा पुरा गर्न सकिने बताइएको छ ।
ल्हासा–सिगात्से रेल ल्हासाको पूर्वी रेलवे स्टेशनबाट ल्हासा नदीको किनारै किनार दक्षिण लाग्नेछ । ९० किलोमिटर ब्रह्मपुत्र घाँटी भएर जाने रेलमार्गको एक तिहाई भाग २९ वटा सुरङभित्र पर्छ ।
तिब्बत रेलवेका उपप्रमुख याङका अनुसार १.७ अर्ब डलर लगानी भएको १२ औँ पञ्च वर्षीय योजना (२०११–२०१५) को यो सबभन्दा ठूलो परियोजना थियो ।
रेलवे सञ्जाल तिब्बतको आर्थिक विकासमा महत्वपूर्ण इन्जिन हुने बताउँदै तिब्बत एकेडेमी अफ सोसल साइन्स ल्हासाकी प्रोफेसर वाङ चुनहुवानले भनिन्, ‘रेलमार्ग सञ्जालले चीनलाई दक्षिण एसिया जोड्ने पुलको काम गर्नेछ र यसले आर्थिक तथा सांस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्नेछ ।’
नागरिक दैनिकबाट