द्रुत गतिको रेल्वे सेवाको अध्ययन गर्न विकास समितिको निर्देशन

113
  •  
  •  
  •  

काठमाडौं, २१ पुस (ओएनएस) : व्यवस्थापिका संसदअन्तर्गतको विकास समितिले नेपालमा रेल्वे यातायातको विकासको लागि आवश्यक काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

रविन्द्र अधिकारी सभापति रहेको समितिको सोमबार बसेको बैठकले नेपालको द्रुत आर्थिक विकासका लागि रेल्वे यातायातको विकास एवं विस्तार आवश्यक देखिएको निश्कर्ष निकालेको हो ।

समितिले रेल्वे यातायातको विकासको लागि आवश्यक रणनीति, कानुनी व्यवस्था तथा आगामी आर्थिक वर्षदेखि रेल्वे विकासका लागि यथेष्ट बजेट छुट्याई कार्यान्वयनमा लैजान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, अर्थ मन्त्रालय र रेल विभागलाई निर्देशन दिएको हो ।

साथै समितिले ट्रान्स एसियन रेल्वे नेटवर्क सन्धिमा नेपाल पनि सदस्य राष्ट्र रहेकोले दु्रत गतिको रेल्वे यातायातको संजाल विस्तार गर्न तत्कालै सम्भाब्य आयोजनाहरुलाई कार्यान्वयनको प्रक्रियामा लैजान पनि भौतिक पूर्वाधार मन्त्रालय र रेल विभागलाई निर्देशन दिएको छ ।

यस्तै मेचि–महाकाली रेल्वे निर्माणको गतिलाई तीब्र पर्न तथा आयोजनाको प्रगति विवरण हरेक ३/३ महिनामा समितिमा उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

चीनको रेल सञ्जालसँग नेपाललाई जोड्न रसुवा–केरुङ्गको सम्भाव्य रेल लाइनको तत्काल विस्तृत अध्ययन गरी विकास र विस्तार गर्न पनि समितिले निर्देशन दिएको छ ।

हाल विद्यमान रहेको रेल्वे यातायातको स्तरोन्नति र विस्तार गर्नको लागि पनि समितिले निर्देशन दिएको छ ।


  •  
  •  
  •