प्रदेशमन्त्रीलाई कूटनीतिक स्थानीय प्रमुखलाई विशेष राहदानी

234
  •  
  •  
  •  

काठमाडौं, १३ चैत्र : सरकारले प्रदेश सरकारदेखि जिल्ला समन्वय समितिका प्रमुखलाई कूटनीतिक राहदानी र स्थानीय सरकार प्रमुखलाई विशेष राहदानी प्रदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलमा मन्त्रिपरिषद्ले यस्तो सेवा प्रदेश एवं स्थानीय सरकार प्रमुखलाई दिने निर्णय भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समितिका प्रमुखलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) र नगरपालिका तथा गाउँपालिका प्रमुख एवं अध्यक्षलाई विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश सरकार, सांसद, जिल्ला समन्वय समितिका प्रमुखले कूटनीतिक राहदानी (रातो पासपोर्ट) तथा स्थानीय सरकारका प्रमुखले विशेष राहदानी प्रयोग गर्न पाउने निर्णय भएको बताए ।

‘मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार, प्रदेश सांसदका साथै जिल्ला समन्वय समितिका प्रमुखले कूटनीतिक राहदानी तथा स्थानीय सरकारका प्रमुखले विशेष राहदानी प्रयोग गर्ने निर्णय गरेको छ,’ बास्कोटाले भने, ‘राहदानी प्रयोग गर्न पाउनेहरूको सूची संशोधन गर्दै मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।’

मन्त्रिपरिषद् बैठकले १५ चैतमा बस्ने संघीय संसद्मा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने निर्णय गरेको छ । राष्ट्रपति भण्डारीले संघीय ससंद्मा ४ बजे सम्बोधन गर्ने निर्णय भएको हो । निर्वाचन सम्पन्न भएपछि राष्ट्रपतिले संघीय संसद्लाई पहिलोपटक सम्बोधन गर्न लागेकी हुन् ।

नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्ने निर्णयसमेत बैठकले गरेको छ । रक्षामन्त्री ईश्वर पोखरेलको प्रस्तावअनुसार मन्त्रिपरिषद् बैठकले उनीहरूको सेवा अवधि थप गर्ने निर्णय गरेको राज्यमन्त्री बास्कोटाले बताए ।
घरजग्गामा दोहोरो कर हट्यो

यसैगरी बैठकले घरबहालमा दोहोरो कर नलगाउने, रानीजमरा सिँचाइ आयोजनाको जग्गाको क्षतिपूर्ति व्यवस्थापन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहको निर्वाचनमा बम विष्फोट तथा महिला हिंसाका घटनामा परी घाइते भएकाहरूको उपचार खर्च सरकारले दिने निर्णय गरेको छ ।

प्रधानमन्त्रीमा ओली निर्वाचित भएपछि सर्वाधिक चर्चा हुने गरेको छिमेकी मित्रराष्ट्र भारत भ्रमणका बारेमा मन्त्रिपरिषद्मा छलफल भएन । नेपाल र भारतका परराष्ट्र एवं दूतावासले भ्रमणको तयारी गरिरहेको भए पनि भ्रमणबारे बैठकमा छलफल नभएको बताइएको छ । राज्यमन्त्री बास्कोटाले प्रधानमन्त्री ओलीको भारत भ्रमणको एजेन्डा बैठकमा प्रवेश नपाएको स्पष्ट गरे ।

प्रेस सल्लाहकारमा डा. अर्याल

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा डा. कुन्दन अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएका डा. अर्याल त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विभागमा प्रध्यापनरत छन्् । ‘सन् १९९० पछि दलीय पक्षधरताबाट व्यापारिकतामा नेपाली छापा पत्रकारिताको संक्रमण’ विषयमा विद्यावारिधी गरेका अर्यालले मानवअधिकारको क्षेत्रमा समेत काम गरेका छन् । अंग्रेजी विषयमा दर्शनाचार्यसमेत गरेका डा. अर्यालले दुई दशकभन्दा बढी समयसम्म क्रियाशील पत्रकारिता गरेका छन् ।उनले विभिन्न सञ्चारमाध्यमको सम्पादक, नेपाल टेलिभिजनको अध्यक्ष, आमसञ्चार नीति तर्जुमा समिति तथा सार्वजनिक सेवा प्रसारण कार्यदलका सदस्यका रूपमा समेत काम गरेका छन् ।

जनसम्पर्क सल्लाहकारमा मैनाली

प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भएका छन् । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक मैनाली २०३६ सालको विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट राजनीतिमा क्रियाशील बनेका हुन् । एमाले बाराको सचिव, नेपाल ल क्याम्पसको सभापति हुँदै एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्यलगायत विभिन्न जिम्मेवारी सम्हालेको अनुभव उनीसँग छ ।


  •  
  •  
  •