हावाहुरी पीडितलाई राहत वितरणमा एकद्वार प्रणाली

701
  •  
  •  
  •  

बारा, २२ चैत(ओएनएस) : जिल्ला प्रशासन कार्यालय बाराले बारा र पर्साका हावाहुरी पीडितलाई राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ ।

हावाहुरी प्रभावितलाई विभिन्न संघसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सकिने व्यवस्था गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिएका छन् ।

हावाहुरीबाट प्रभावित बारा जिल्लाको विभिन्न ठाउँमा दाता तथा संघसंस्थाहरुले आफू खुशी राहत वितरण गर्दा वास्तविक प्रभावित परिवारले राहत नपाएर अन्य व्यक्तिहरुले राहत पाउने गरेको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले राहत वितरण कार्यमा कडाइ गर्दै सो एकद्वार प्रणाली लागू गरेको सूचना अधिकारी मुरारी कार्कीले जानकारी गराएका छन् ।

जिप्रका बाराले शुक्रबारदेखि कुनै पनि व्यक्ति वा संघसंस्थाले जिल्ला प्रशासन कार्यालयको समन्वय विना राहत वितरण गर्न नपाइने, हावाहुरी प्रभावित गाउँमा प्रवेश गर्ने बाटोमा राखिएको हेल्थ डेक्सको सिफारिस हुनुपर्ने लगायतका व्यवस्था गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार हावाहुरी प्रभावित क्षेत्रमा ९४० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा ९५५ घर आंशिक रुपमा क्षति भएको र मृतकहरुको संख्या २८ पुगेको छ ।


  •  
  •  
  •