राहत बाँड्दा बाँड्दै डेढ लाख भूकम्पपीडित थपिए

198
  •  
  •  
  •  

काठमाडौं १८ पुस ।
सरकारले भूकम्पपीडितहरूलाई जाडोबाट बचाउन न्यानो कपडाका लागि १० दिनभित्र प्रतिपरिवार १०/१० हजार रुपैयाँ राहत वितरण गरिसक्न जिल्ला प्रशासन कार्यालयहरूलाई शुक्रबार निर्देशन दिएको छ ।

चिसोले कठ्यांग्रिएर भूकम्पपीडितहरूको मृत्यु हुन थालेपछि गृह मन्त्री शक्ति बस्नेतको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिले भूकम्प प्रभावित सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई घरवारविहीन भई टिनको टहरा र त्रिपालमुनि बस्न बाध्य पीडितहरूलाई १० दिनभित्र राहत बाँडिसक्न निर्देशन दिएको हो ।

बैठकमा मन्त्रीहरू भीम रावल, विष्णु पौडेल, रेखा शर्मा, मुख्यसचिव सोमलाल सुवेदी, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलगायत सहभागी थिए ।

समितिको निर्णयअनुसार सरकारले भूकम्पबाट घर पूर्ण रूपमा क्षति भएका सम्पूर्ण पीडित परिवारलाई १० दिनभित्र न्यानो कपडाका लागि १०/१० हजार राहत वितरण गरिसक्नका लागि जिल्लास्थित जुनसुकै कार्यालयका कर्मचारी र गाडी परिचालन गर्नसमेत प्रजिअ र स्थानीय विकास अधिकारीलाई अख्तियारीसमेत दिएको छ । जिल्लाहरूमा गाविस सचिवको अभावमा राहत रकम बाँड्न समस्या भएपछि सरकारले जिल्लास्थित जुनसुकै कर्मचारी परिचालन गर्न जिल्ला दैवीप्रकोप उद्धार समितिहरूलाई निर्देशन दिएको जानकारी गृह मन्त्रालयको विपत व्यवस्थापन महाशाखाका सहसचिव रामेश्वर दंगालले जानकारी दिए ।

दंगालका अनुसार सरकारले भूकम्पपीडित २ लाख ७० हजार परिवारले न्यानो कपडाका लागि राहतबापत १०/१० हजार रुपैयाँ वितरण गरिसकेको छ । अझै करिब ५ लाख भूकम्पपीडित परिवारले त्यस्तो राहत पाउन बाँकी छ ।

राहत बाँडा बाँडै भूकम्पमा घरबारविहीन भएका पीडित परिवारको संख्या बढेको छ । सरकारले स्थानीय निकायहरूबाट भूकम्पबाट ६ लाख घर पूर्ण रूपमा क्षति भएको तथ्यांक प्राप्त गरेको थियो । छ लाख परिवारलाई १०/१० हजार राहत बाँड्न सरकारले भूकम्प प्रभावित जिल्लाका दैवी प्रकोप समितिलाई ६ अर्ब रुपैयाँ निकासा गरेको थियो ।

घर पूर्ण रूपमा क्षति भएका पीडितको कार्ड पाउने संख्या साढे सात लाख परिवार पुगेको छ । थप डेढ लाखलाई राहत बाँड्न गृहले अर्थमन्त्रालयसित डेढ अर्ब रुपैयाँ निकासा गर्न लिखित आग्रह गरिसकेको छ ।

सरकारले भूकम्पबाट बढी प्रभावित र जाडो बढी भएका ६ जिल्ला गोरखा, धादिङ, रसुवा, काभ्रे, सिन्धुपाल्चोक र दोलखामा चिसोबाट पीडितलाई वितरण गर्न २५ हजार ब्लांकेट पठाएको छ । बंगलादेशको सहयोगमा प्राप्त भई झापाको गोदाममा रहेका ती ब्लांकेट छ जिल्लामा पुगिसकेको जानकारी दंगालले दिए ।
उनका अनुसार ती ब्लांकेट साना बालबालिका, सुत्केरी, वृद्धवृद्धा र रोगी व्यक्ति भएका भूकम्पपीडित परिवारलाई प्राथमिकता दिई बाँड्न जिल्ला दैवीप्रकोप समितिहरूलाई निर्देशन दिइएको छ । साथै ब्लांकेट भूकम्पपीडितमध्ये पनि गरिब र दलित परिवारलाई छानेर बाँड्नसमेत निर्देशन दिइएको छ ।

ती ६ जिल्लामा साढे चार हजारका दरले ब्लांकेट पठाइएको छ । सरकारले जिल्ला दैवी प्रकोप उद्धार समितिलाई गोदाममा रहेका कपडालगायतका सामग्री चिसोबाट प्रभावित भूकम्पपीडितलाई वितरण गर्नसमेत निर्देशन दिएको छ ।

सरकारले चिसोबाट बिरामी पर्न थालेका भूकम्पपीडितको उपचार गर्न प्रभावित जिल्लाहरूमा २४ वटा चिकित्सा टोली पठाएको छ । आवश्यक औषधिसहित गएका ती टोलीले प्रभावित क्षेत्रमा पुगेर उपचारको कामसमेत सुरु गरिसकेको गृहका अधिकारी बताउँछन् । आवश्यक परेमा थप टोली पठाउनसमेत केन्द्रीय दैवी प्रकोप उद्धार समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
कान्तिपुरबाट


  •  
  •  
  •