हो, म साहित्यकार होइन : राधा पौडेल, मदन पुरस्कार विजेता

193
  •  
  •  
  •  

२८ कात्तिक ०५९ को रात जुम्ला सदरमुकाम खलंगामा माओवादी हमला भयो, जहाँ रातभर बम र गोलीको वर्षा भयो । जनशक्ति अधिकृतका रूपमा जिल्ला जनस्वास्थ्य कार्यालय, जुम्ला पुगेकी राधा पौडेल त्यहीँ थिइन् । संयोग, उनलाई केही भएन । अफिसले आक्रमणको तेस्रो दिन उनलाई उद्धार गर्‍यो । ‘सर्वसाधारणमध्ये सबैभन्दा पहिले उद्धार गरिने मान्छे भएँ म । अफिसले हेलिकोप्टरमा काठमाडौं ल्यायो,’ उन सम्झिन्छिन् ।

त्यसपछि उनलाई अफिसले फेरि जुम्ला जाने वा नजाने विकल्प खुला राख्यो । राधाले ‘ट्रमाटिकल्ली टर्चर’ भोगेकाले अफिसले त्यस्तो विकल्प दिएको थियो ।

तर उनलाई लाग्यो, यो त मेरो मात्रै समस्या होइन । देशकै समस्या हो । म पो जुम्लामा थिएँ । चितवनमा रहेका मेरा बाआमा पनि त उत्तिकै ‘टर्चर’मा हुनुहुन्छ । ‘त्यसैले मैले जाने निर्णय गरेँ । काउन्सिलिङ पनि लिइनँ,’ उनले भनिन् । उनलाई काठमाडौं ल्याइँदै गर्दा खलंगाका घर जलिरहेका थिए । धुवाँको मुस्लोबीचबाटै उनको हेलिकोप्टर उडेको थियो । एक सातापछि उनी पुग्दा आगलागी भएको जंगलजस्तो थियो खलंगा ।

खलंगा पुगेर उनी सरासर अस्पताल गइन् । त्यसपछि आफ्नो डेरा फर्कँदै थिइन् । जिल्ला प्रशासन कार्यालय हुँदै फर्कनुपथ्र्यो । त्यहाँ प्रहरीहरू जलेको घरमा सामग्री ओल्टाइपल्टाई गरिरहेका थिए । उनले प्रहरीलाई के खोजेको भनेर सोधिन् । डिएसपीको लास नभेटिएकाले खोजिरहेको प्रहरीबाट जानकारी पाइन् । उता टुँडिखेलमा लास जम्मा गरिँदै थियो । त्यो दृश्यले उनलाई हमलाको रात याद आयो । उनले आफूले भोगेको त्रासदी सम्झिन् । सुनेको चित्कार सम्झिन् । जुम्लाका मानिस सम्झिन् । उनीहरूको अवस्था सम्झिन् । ‘मैले झन्डै डेढ वर्ष त्यहाँ बिताइसकेकी थिएँ । त्यहाँका माओवादी, पुलिस, आर्मी, जनता सबैको अवस्था थाहा थियो मलाई । सोचेँ, यति धेरै मान्छे परे । यति ठूलो क्षति भयो । के यसले यहाँका जनताले न्याय पाए त ? यो विषयमा काठमाडौंलाई त केही परवाह छैन ।’ त्यतिवेलाको अनुभूति सम्झँदै राधा भन्छिन्, ‘मलाई त्यहाँ उभिरहँदा इजलासमा उभिरहेको जस्तो लाग्यो । मलाई लाग्यो, मैले त यो सब देखेकी छु । त्यसैले साक्षी बक्नुपर्छ । मैले मनमनै आफैँलाई वाचा गरेँ । अनि डेरामा गएर झन्डै तीन दिनमा त्यो अनुभूति लेखेँ ।’

त्यही अनुभूति करिब १२ वर्षपछि प्रकाशन संस्था नेपालयको हातमा पर्‍यो र छापियो ‘खलंगामा हमला’ शीर्षकमा । राधाको त्यही पुस्तकले ०७० को मदन पुरस्कार प्राप्त गरेको छ ।
०००

आइतबार राधा भृकुटीमण्डपस्थित पुस्तक प्रदर्शनी पुगेकी थिइन्, बजारमा आएका नयाँ पुस्तक किन्न । अपराह्न ३:२० मा कुन्द दीक्षितको ट्विटरमार्फत मदन पुरस्कारको घोषणा सार्वजनिक भयो । त्यसको केही समयपछि पुस्तकका सम्पादक सुदीप श्रेष्ठमार्फत उनले थाहा पाइन् ।

‘पहिले त पुरस्कार पाएको भन्ने विश्वासै लागेन । जब निश्चितै हो भन्ने खबर पाएँ, मेरो मस्तिष्कमा खलंगाको टुँडिखेलमा लहरै राखिएका लास आए । जुम्लाका मान्छलाई सम्झिएँ । त्यसपछि मेरा बाआमालाई सम्झिएँ । १२ वर्षसम्म छाप्ने अवसर नपाएको डायरी प्रकाशन गर्ने जिम्मा लिने नेपालयलाई पनि उत्तिकै सम्झिएँ,’ उनले भनिन्, ‘मलाई लाग्यो, म त माध्यममात्रै न थिएँ । आवाज त जुम्लाको थियो । त्यसले वैधानिकता पायो । मैले साक्षी बकेको अर्थ प्रमाणित भयो ।’

उनले मदन पुरस्कार पाएपछि धेरैको अनुमान ‘फेल’ खायो । नाम चर्चामा आइरहेका साहित्यकारमध्येबाटै मदन पुरस्कार पाउने अनुमान बजारमा थियो । तर, साहित्यकारको ‘गणना’मै नपरेकी राधाले पुरस्कार पाएपछि त्यसको तरंग फेसबुकदेखि ट्विटरसम्म फैलियो ।

पुरस्कारको पनि उनलाई कुनै अपेक्षा थिएन । उनको भनाइ छ, ‘मैले यो काम पुरस्कारका लागि गरेको नै होइन । मैले त लेख्नैपर्ने भएर लेखेकी हुँ । मैले नलेखे कसले लेखिदिन्छ, यसको साक्षी त म नै हुँ भन्ने लागेर लेखेकी हुँ । मदन पुरस्कारबारे त मैले स्कुलको हाजिरीजवाफमा मात्रै याद गरेकी हुँ ।’
०००

राधा पश्चिम चितवनमा जन्मिन् । जीवनको चार दशकमा यात्रा गरिरहेकी उनलाई खास जन्ममिति थाहा छैन । आमा गंगामाया भन्थिन्, ‘गर्मीका वेला जन्मेकी होस् तँ ।’ तर, स्कुलमा शिक्षकले उनको जन्मदिन पुस १४ गते बनाइदिएछन् । छोरो जन्मन्छ भन्ने आशा गरेका वेला जन्मेकी छोरी भएकाले कसैले वास्ता नगरेको आमाको गुनासो थियो । उनका ५ दिदीबहिनी र एक भाइ छन् । त्यसमध्ये उनी काइँली ।

उनी सानै छँदा परिवार भरतपुर–८ गौरीगन्जमा बसाइँ सर्‍यो । कसैले उचालेर गाडामा राखिदिएको धमिलो सम्झनामात्रै छ उनीसँग । तर, त्यसपछि भोगेको जीवनको भने तीखो याद बाँकी नै छ । नहोस् पनि किन, सिरुबारी फाँडेर बनाएको उनको घरभित्रै सिरु उम्रन्थ्यो । अभावको तीखो सिरुले त घोची नै रहन्थ्यो । तथापि, बुबा देवीप्रसादमा छोरीलाई पनि पढाउनुपर्छ भन्ने चेतना थियो । त्यसैले उनको अक्षरयात्रा चल्यो गौरीगन्ज निमाविदेखि प्रेमबस्ती माविसम्म । एसएलसी परीक्षा दिएपछि बिहा गरिदिने हो कि भन्ने डरले खुम्चिएर बसेका वेला बुबाले क्याम्पस पढाउने कुरा गर्दा उनलाई अहिले मदन पुरस्कार पाएजस्तै भएको थियो । त्यसबाट नै नर्सिङ, बिएड, स्नातकोत्तरलगायतका प्रमाणपत्र प्राप्त गर्ने बाटो खुलेको थियो ।

स्कुल पढ्दा उनले निकै अभाव झेलिन् । घरको आर्थिक अवस्था कमजोर थियो । उनलाई दिदीले प्रयोग गरिसकेर समाउन नमिल्ने भइसकेको सिसाकलम भाग लाग्थ्यो । राम्रो कपडा थिएन । जुत्ता थिएन । त्यसैले एक दिन उनले बुबालाई गुनासो गरिन् । त्यसवेला बुबाले भनेको कुराले उनको जीवनको योजना बदलियो, सपना बदलियो । बुबाले भने, ‘छोरी, तिमी त धेरै भाग्यमानी हो । बाबुआमा सँगै छन् । बाटो छ । पढ्न पाएकी छौ । साबुन छ, पानी छ । तर जुम्लामा त न साबुन छ, न पानी छ । हिउँ पगालेर खानुपर्छ । पढ्ने त कुरै छैन । त्यसैले तिमीले अहिले राम्रोसँग पढ्नुपर्छ । अनि त्यहाँ गएर सेवा गर्नुपर्छ ।’ त्यो कुराले उनलाई त्यो अबोधकालमै भावुक बनाएको थियो ।

त्यही कुरालाई मनमा राखेर उनले नर्सिङ सकेर भरतपुर अस्पतालमा जागिर पाउँदा पनि जुम्लालाई नै कार्यथलो रोजिन् । हुन त त्यतिवेला चाहिँ बुबाले उनको निर्णय रुचाउनुभएको थिएन । किनकि, माओवादी जनयुद्ध चरममा थियो । उनले बुबालाई ढाँटेर जुम्ला गएकी थिइन्, सुरक्षित मातृत्व कार्यक्रमको जनशक्ति विकास अधिकृत भएर । ‘बुबा म बेतलबी बिदा लिएर जान लागेकी हुँ भनेर ढाँटेकी थिएँ । बुबाले अहिले पनि त्यो कुरा गर्नुहुन्छ,’ उनले भनिन् ।

बुबालाई ढाँटेरै गए पनि उनले साँचो मनले जुम्लाका महिलाको सेवा गरिन् । त्यहाँको वस्तुस्थिति बुझिन् । त्यसले पनि उनलाई ‘खलंगामा हमला’ लेख्न सघाएको थियो ।
०००
उनले किताब प्रकाशनका लागि उत्तम ब्लोनमार्फत नेपालयमा सम्पर्क गर्दा उनलाई लेखकस्व पाइन्छ भन्नेसमेत थाहा थिएन । उनलाई लागेको एउटै कुरा थियो, किताब प्रकाशन हुनु ठूलो कुरा होइन, राम्रो प्रकाशन भयो भने लक्षित वर्गमा पुस्तक पुग्छ ।

तर, पुस्तक प्रकाशन गर्ने सम्झौता गर्ने दिन नै उनले बीस हजारको चेक पाइन् । त्यसले उनलाई चकित त बनायो नै । साथै मनमा लामो समयदेखि खेलिरहेको एउटा सपना पूरा हुने बाटो खुलेको पनि अनुभूति गरिन् । ‘म त किताब छापिहाले भने कति पैसा लिने हुन् भन्ने सोचिरहेकी थिएँ । तर, उल्टै पैसा पाउँदा त चकित भएँ । त्यो चेक मैले सरासर अफिस आएर शान्तिवाटिकाका लागि खर्च गर्न भनेर लेखाको भाइलाई जिम्मा लगाएँ,’ उनले सम्झिन् ।

खलंगा हमलाबाट बाँचेपछि उनले प्रमुख जिल्ला अधिकारीलाई भन्ने गर्थिन्, हरेक वर्ष २८ कात्तिकमा जन्मदिन मनाऔँ । तर, सिडिओले त्यस्तो भावुक योजना कसरी मानून् । त्यसो गर्न नसके पनि राधाको मनमा शान्तिवाटिकाको सपना भने पन्पिरहेको थियो । ‘द्वन्द्वले चरम रूप लिएको ठाउँबाट शान्तिको सन्देश दिनुपर्छ भन्ने लागिरहेको थियो । त्यसैवेला म बसेको घरको घरबेटीबाले संयोगले बाँचेकी छोरी भनेर डेढ रोपनी जग्गा दिनुभयो । त्यसैलाई मैले संस्थाको नाममा राखेर शान्तिवाटिका बनाउने योजना बनाएकी थिएँ । पुस्तकको पैसाले त्यसलाई सघायो,’ उनले सुनाइन् ।

उनले पुस्तकको लेखकस्व त्यसैमा खर्च गरिरहेकी छिन् । गत वर्ष ५ असोजमा सिलान्यास गरिएको चन्दनाथ नगरपालिका बोहोरागाउँमा बनिरहेको वाटिका आइतबार (भोलि) उद्घाटन हुँदै छ । ‘झन्डै डेढ करोडको योजना हो । पैसा नपुगेर पूर्ण त भइसकेको छैन । तर पनि उद्घाटन गर्दै छौँ,’ उनले जानकारी दिइन् । मितेरी शान्ति अनुसन्धान केन्द्रका रूपमा वाटिकालाई विकास गर्ने योजनामा छिन् उनी । ‘त्यहाँ जनयुद्धमा मारिएकाको स्मृतिमा अमूर्त स्टाचु हुन्छ । अनुसन्धान केन्द्र हुन्छ । पुस्तकालय र ध्यान केन्द्र हुन्छ । मेडिटेसन हल हुन्छ । त्यहाँको संस्कृति झल्किने बनावट हुन्छ । जोकोही त्यहाँ पुगेपछि शान्तिको अनुभूति गरोस् भन्ने हो । अब त बाटो पनि गयो । त्यसलाई लुम्बिनीपछिको हब बनाउन सकिन्छ,’ उनले योजना सुनाइन् ।
०००

त्यसो त आफूले सानैदेखि केही न केही लेखिरहेको राधा बताउँछिन् । ‘मलाई जेमा पनि पहिलो हुनुपर्छ भन्ने भावना थियो । विद्यालयमा हुने कविता प्रतियोगितामा प्रथम हुन कविता लेख्थें,’ उनले भनिन्, ‘पछि पोखरामा नर्सिङ पढ्दाताका लेखेको कविता ‘सेता फूल’ त्यहाँको प्रतियोगितामा प्रथम भएको सम्झना छ । अहिले पनि मलाई केही कुराले दुख्छ, छुन्छ । त्यसलाई डायरीमा उतारिहाल्छु । त्यो कहिले कविता बन्छ, कहिले संस्मरण बन्छ । किताबै पनि बन्यो । तर, म साहित्यकार होइन ।’

त्यसो त उनले आफ्नो भोगाइलाई पहिले नै पुस्तकको रूप दिइसकेकी रहिछिन् । ‘मैले महिलाहरूको पीडाका विषयमा एउटा रजिस्ट्ररभरि लेखेकी थिएँ जुम्लामै । त्यसमा पनि वास्तविक घटना नै थियो । जुम्लामै दुर्गा पोखरेल दिदीलाई भेटेँ । उहाँको पुस्तक स्याडो ओभर सांग्रिला पढेकी पनि थिएँ । त्यसैले उहाँले पुस्तक पढिदिनुहुन्छ, रिभ्यु गरिदिनुहुन्छ र प्रकाशनको नेटवर्क मिलाइदिनुहुन्छ भनेर दिएकी थिएँ । तर, त्यो हरायो,’ उनले बताइन् । त्यसैबाट पाठ सिकेर उनले खलंगाको हमलाबारे लेखेको डायरी अर्कोमा पनि सारिन् । नभन्दै मूल ‘कपी’ टाइप गर्न दिँदादिँदै कतै हरायो । पछि सारेको ‘कपी’मात्रै छ अहिले उनीसँग । पुस्तक त्यसैबाट तयार भएको हो । ‘त्यसमा खासै थपघट गरिएको छैन । खलंगाको घटना हुँदा मेरी आमा स्वर्गीय हुनुभएको थिएन । किताब निस्कँदा स्वर्गीय भइसकेकाले त्यो प्रसंग थपेको छु । त्यस्तै मेरो संस्था एक्सन वर्क नेपालबारे थोरै थपिएको छ,’ उनले भनिन् ।

लेखनका लागि प्राप्त हुने मदन पुरस्कार पाएपछि पनि उनीसँग कुनै योजना छैन । ‘म खासमा काममा विश्वास गर्ने मान्छे हो । यो किताब पनि त्यसैको परिणाम हो । अब लेख्छु–लेख्दिनँ, कुनै प्रतिज्ञा गर्दिनँ । पुरस्कार पाएर लेख्नुपर्छ भन्ने कुरामा पनि विश्वास गर्दिनँ । तर, जिम्मेवारीबोधचाहिँ भएको छ,’ उनको भनाइ छ ।

कुनै पनि काम योजनामा नगरेको उनी बताउँछिन् । ‘लेखन पनि योजनामा हुँदैन । जीवनमा मैले त्यस्ता परिस्थितिमा लेखेकी छु, जतिवेला नलेखी धरै पाउँदिनँ । मैले अरू माध्यमबाट अभिव्यक्त गर्नै नसक्ने भएपछि लेख्छु,’ उनले भनिन् ।
उनीसँग त्यसरी लेखिएका थुप्रै डायरी छन्, घरमा बोरामा हालेर राखिएका । एउटा पुस्तक नै हुने प्रकारको डायरी पनि छ । भन्छिन्, ‘तर, त्यसको विषयचाहिँ अहिले नै सार्वजनिक गर्दिनँ । अलि फुर्सद भएपछि त्यसलाई पुस्तकको आकार दिने योजनामा छु । त्यसले अर्को ब्रेक थ्रु हुन्छजस्तो लाग्छ ।’ साभार नयाँपत्रिका


  •  
  •  
  •