विराटनगरमा आज राधाकृष्ण रथयात्रा

624
  •  
  •  
  •  

Biratnagar-Gateविराटनगर, २० भदौ(ओएनएस) : आइतबार (आज) अपरान्ह ३ बजे देखी सुरू हुने रथयात्रामा बालबालिकाको प्रयोगलाई रोकिने भएको छ । राधाकृष्ण जन्माष्टमीको भोलीपल्ट राधाकृष्ण युगल जोडीको मुर्ती राखेर आयोजना गरिने रथयात्राको क्रममा १० बर्ष मुनीका बालबालिकाको प्रयोग निषेध गरिएको हो ।

बालबालिकालाई राधा कृष्णको भेष लगाएर रथयात्रामा सरिक गराउने यसअघि चलन भएपनि अव भने १० बर्ष मुनीका बालबालिकाको प्रयोग निषेध गरिएको आयोजक समितिले जनाएको छ ।

४८ औ रथयात्रा समारोह समितिका सचिव ओमप्रकाश निरौलाले रथयात्राको तयारी पुरा भएको जानकारी दिदै साना बालबालिकाको प्रयोग गर्नेलाई नियन्त्रणमा राखिने जानकारी दिए । उनले भने, ‘ ढाकीमा बालबालिकाको प्रयोग पूर्ण निषेध गरिएको छ । बालबालिकाको प्रयोग गरेको पाइए तत्काल प्रहरीले नियन्त्रणमा लिन्छ ।’ उनले गाडीमा पनि १० बर्ष मुनीका बालबालिकाको प्रयोग गर्न नपाइने जानकारी दिए । रथयात्रामा पाँच लाखभन्दा बढि भक्तजन सहभागी हुने अनुमान गरिएको छ ।

रथ हिडाइने मेनरोडमा घर भत्काइएका कारण फोहोर र बाँस सडकमा थुपारिएपनि सरसफाई गर्ने कार्य पुरा भएको बताइएको छ । रथयात्रा गराइने रुटमा घर भत्काउने कार्य सञ्चालन भएपनि आइतबार सवै काम रोकिएको छ । उनले रथ सिंगार्ने, स्वागत गेट बनाउने, सुरक्षा व्यवस्था मिलाउने, स्वमसेवक परिचालन गर्ने तयारी पूरा भएको छ ।

रथयात्रा गरिने भएकाले आइतबार आन्दोलनरत दलकाले बन्दका कार्यक्रमहरू स्थगित गरेका छन् । बन्दकर्ताले रथयात्रामा आउने भक्तजनहरुको सजहताकालागि बन्दलाई खुकुलो बनाएका छन् ।

रथयात्रालाई सफल बनाउन २१ वटा उपसमितिहरु क्रियासिल रहेको जानकारी दिदै उनले यात्राका क्रममा ४४ स्थानमा रथ विश्राम गरिने जानकारी दिए । आइतबार दिउँसो राधाकृष्ण मन्दिर परिषदबाट निस्कने रथ तिनपैनी, गोल्छा चोक, ट्राफिक चोक, जनआन्दोलन चोक, महाविर रोड, शनिमन्दिर मुनालपथ, बरगाछी, पानीटंकी हुदै पून मन्दिर परिषदसम्म पुग्दा जम्मा ४४ स्थानमा रथ विश्राम गरिने बताइएको छ ।

पाँच वटा मयुर
रथलाई विषेश तरिकाले सजाइएको आयोजक समितिले जाकारी दिएको छ । रथलाई आर्कशक बनाउन पाँच वटा कृतिम मयुर बनाइएको छ । आयोजक समितिका सचिव निरौलाले भने, ‘यसपटक चारवटै कुना र गजुर छेउमा कृतिम मयूर बनाएका छौ ।’ रथलाई आर्कषक बनाउन पहिलो पटक मयूर बनाइएको उनले बताए ।

९ सय ५० सुरक्षाकर्मी
रथयात्रालाई व्यवस्थित र मर्यादित बनाउन ९ सय ५० सुरक्षाकर्मी परिचालन गरिने भएको छ । मधेश आन्दोलन चलिरहेका बेला आयोजना गरिने रथयात्रामा हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा निकायले ९ सय ५० सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरको हो । ६ सय ५० नेपाल प्रहरी, ३ सय सशत्र प्रहरी र व्यापक मात्रामा सादा पोशाकमा प्रहरी परिचालनको तयारी गरिएको छ । आइतबार दिउँसो १ बजेदेखी रथ सञ्चालन हुने रूटमा सुरक्षाकर्मी परिचालत हुनेछन् ।

विराटनगर १ स्थित श्री राधाकृष्ण मन्दिर परिसरबाट बिक्रम सम्बत १९८८ सालमा समाजसेवी र धार्मिक आस्था राख्ने सानो समुहबाट खटयात्राको रुपमा शुरु गरिएको श्री राधाकृष्णको रथयात्राले २०२५ सालबाट रथयात्राको रुप लिएको थियो । सोही समय देखी रथयात्रा समारोह विराटनगर र यसक्षेत्रको पहिचानको रुपमा सञ्चालन हुदै आएको छ ।


  •  
  •  
  •