ऊर्जामन्त्री निर्णय उल्ट्याउन तयार,माथिल्लो सेती विवाद

256
  •  
  •  
  •  

काठमाडौं १७ पुस ।
तीव्र दबाब र आलोचनापछि ऊर्जामन्त्री राधा ज्ञवालीले १४० मेगावाटको माथिल्लो सेती (तनहुँ हाइड्रोपावर) जलाशययुक्त आयोजनाको परामर्शदाता नियुक्तिसम्बन्धी आफैंले गरेको निर्णय उल्ट्याउन बिहीबार मन्त्रिपरिषद्मा प्रस्ताव लाने भएकी छन् ।

प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, कांग्रेस उपसभापति रामचन्द्र पौडेलसहितका पश्चिमाञ्चलका सभासद, प्रमुख दुई दाता एसियाली विकास बैंक (एडीबी) र जाइकाको तीव्र दबाबपछि ऊर्जामन्त्री निर्णय उल्ट्याउन तयार भएकी हुन् ।

ज्ञवालीले माथिल्लो सेती आयोजनामा एडीबीले छनोट गरेकै जर्मन कम्पनी ल्यामेयरलाई नै परामर्शदाता नियुक्त गर्ने प्रस्ताव बिहीबार मन्त्रिपरिषद्मा लाने तयारी गरेको मन्त्रालयका अधिकारीले जनाए । मन्त्रिपरिषद्ले ऊर्जामन्त्रीको निर्णय उल्ट्याएपछि माथिल्लो सेतीमा ल्यामेयरलाई परामर्शदाता नियुक्त गरी आयोजना अघि बढाउने बाटो खुल्नेछ । मन्त्रिपरिषद्ले ऊर्जामन्त्रीको निर्णय उल्ट्याएपछि तनहुँ हाइड्रो पावर लिमिटेडले ल्यामेयरलाई परामर्शदाता नियुक्ति गर्नेछ ।

ज्ञवालीले असोज ८ मा एडीबीको परामर्शदाता छनोट प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी गर्दै रद्द गरी नयाँ प्रक्रिया सुरु गर्ने निर्णय गरेकी थिइन् । सेडिमेन्टसन फ्लसिङ -जलाशयमा वर्षाभर जम्मा हुने बालुवा र गेग्य्रान पानी खोलिदिएर फ्याँक्ने प्रक्रिया) को अनुभवै नभएको ल्यामेयरलाई एडीबीले परामर्शदाता छान्नु त्रुटिपूर्ण भएको दाबी मन्त्रीको थियो । सेडिमेन्टसन फ्लसिङको अनुभव भएको जापानी कम्पनी कन्साईलाई एडीबीले परामर्शदाता नछान्नु अन्यायपूर्ण भएको जिकिर उनको थियो ।

ऊर्जामन्त्रीले परामर्शदाता छनोटको प्रक्रिया रद्द गरेपछि प्रमुख दाता एडीबी र जाइकाले आयोजनाबाट हात झिक्ने चेतावनी सरकारलाई दिएका थिए । त्यसबाट लगानी जुटिसकेको र विस्तृत इन्जिनियरिङ अध्ययन सकिएर निर्माणमा जान लागेको माथिल्लो सेतीको भविष्य नै अन्योलमा परेको थियो ।

उक्त आयोजना सन् २०१९ मा निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य विद्युत् प्राधिकरणको छ । लागत महँगो भए पनि हिउँदयाममा दिनको ६ घन्टा १४० मेगावाट विद्युत् उत्पादन गर्ने आकर्षक आयोजनाको भविष्य परामर्शदाता नियुक्ति विवादले अनिश्चित हुन पुगेमा मुलुकमा केही वर्षपछि झन् बढी लोडसेडिङ हुने चिन्ता र चासो धेरैले व्यक्त गरेका थिए । त्यसपछि प्रधानमन्त्री कोइरालाले ऊर्जामन्त्री ज्ञवालीलाई एडीबीकै परामर्शदाता छनोट प्रक्रियालाई सदर गरी माथिल्लो सेतीको काम अघि बढाउन निर्देशन दिएका थिए । कोइरालाले एमाले अध्यक्ष केपी ओलीलाई समेत माथिल्लो सेती आयोजनालाई बचाउन ऊर्जामन्त्रीलाई निर्णय उल्ट्याउनका लागि दबाब दिन आग्रह गरेका थिए ।

एडीबी र जाइकाका अधिकारीहरूले बुधबार ओलीलाई भेटी ल्यामेयरलाई नै परामर्शदाता नियुक्ति निम्ति मन्त्रीलाई दबाब दिन आग्रह गरेको स्रोत बताउँछ । स्राेतका अनुसार यही दबाबपछि ओलीले मन्त्रीलाई निर्णय उल्ट्याउन निर्देशन दिएका हुन् ।

एडीबीले माथिल्लो सेतीमा ऊर्जामन्त्रीले उठाएको चासोलाई सम्बोधन गर्दै परामर्शदाता कम्पनीमा सेडिमेन्टेसन फ्लसिङको अनुभव भएका विज्ञलाई राख्नेलगायत कामका निम्ति थप सहयोग गर्ने लिखित प्रतिबद्धता ऊर्जा मन्त्रालयसमक्ष गरेको छ । मन्त्री ज्ञवालीले आफूले उठाएको विषय सम्बोधन गर्न एडीबी सहमत भएको उल्लेख गर्दै ल्यामेयरलाई नै परामर्शदाता नियुक्त गर्न मन्त्रिपरिषद्मा लाने प्रस्ताव तयार गर्ने जिम्मा बुधबार मन्त्रालयका अधिकारीहरूलाई दिएकी हुन् ।
कान्तिपुरबाट


  •  
  •  
  •