उर्जामन्त्रीलाई निलम्वन गर्नुपर्ने भएपछि गठबन्धन सरकार हच्कियो

220
  •  
  •  
  •  

radhaकाठमाडौं १६ पुस ।
चमेलिया जलविद्युत आयोजना अनियमितता प्रकरणमा उर्जामन्त्री राधाकुमारी ज्ञवालीलाई निलम्वन गरि कारवाही गर्नुपर्ने भएपछि सरकारले संसदको सार्वजनिक लेखा समितिको निर्देशन पालनामा उदासीन बसेको छ । यसबाट सरकारको कामकारवाही जवाफदेही बनाउन मुख्य भुमिका निर्वाह गर्ने लेखा समितिमाथि नै प्रश्न उब्जेको छ ।

प्रतिपक्षी दलको नेतृत्वमा रहने लेखा समितिले सरकारको काम कारवाही जिम्मेवार र जवापदेहीपूर्ण बनाउन मुख्य भुमिका खेल्छ । प्रतिपक्षी दलले यो समितिमार्फत सरकारको काम प्रभावकारी बनाएर जनतासँग आफ्नो सम्बन्ध स्थापित गर्छन् । कार्यपालिकालाई नियन्त्रण गर्न ब्यबस्थापिका संसदको यही समितिको मुख्य भुमिका रहन्छ । त्यहि भएर लेखा समिति अरुभन्दा बढी प्रभावकारी र सक्रिय रहन्छ । तर, गठबन्धन सरकार नै समस्यामा पर्ने देखिएपछि प्रधानमन्त्री सुशिल कोइराला समितिको निर्देशन कार्यान्वयनमा उदासीन बनेका छन् ।

समितिले सरकारलाई चमेलियाको टनेल स्क्वीजिङ टि्रटमेन्ट -सुरुङ साँघुरिने समस्या समाधान) सम्बन्धी ‘निर्णय प्रक्रियामा संलग्न सम्पूर्ण पदाधिकारीलाई पदीय जिम्मेवारीबाट हटाइ कारवाहीको प्रक्रिया अगाडि बढाउन’ निर्देशन दिएको थियो । उक्त निर्देशन पालना गर्दा उर्जामन्त्री ज्ञवालीलाई पदीय जिम्मेवारीबाट हटाउनुपर्ने भएपछि सरकारले समितिको निर्देशन पालनामा उदासीनता देखाइरहेको छ । समितिले प्राविधिक अध्ययन गराई सुरुङ साँघुरिने समस्या समाधानको भेरिएसनमा करिब ५५ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै भेरिएसनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी सबैलाई कारवाही गर्न निर्देशन दिएको थियो । उर्जामन्त्री ज्ञवालीले विद्युत प्राधिकरण सञ्चालक समितिकी अध्यक्षको हैसियतले प्राविधिक मुल्यांकन समेत नराई ठेकेदारले मागेजति भेरिएसन स्वीकृत गराउन मुख्य भुमिका निर्वाह गरेकी थिइन् । ठेकेदारले करिब १ अर्ब ९ करोड रुपैयाँ भेरिएसन दाबी गरेको थियो ।

मंसिर १७ मा गरेको निर्णय अनुसार मन्त्रिपरिषदले चमेलियाको अनियमितता प्रकरणमा संलग्नलाई गरेको कारवाहीको जानकारी ११ औं दिनमा लेखा समितिलाई दिनुपथ्र्यो । त्यसको एक महिना पुग्दा पनि मन्त्रिपरिषद र त्यस अन्तर्गतका निकायले अनियमिततामा संलग्न कसैलाई कारवाही गरेको छैन । समितिलाई कारवाहीका सम्बन्धमा के भइरहेको हो भन्ने जानकारी गराएको छैन ।
कान्तिपुरबाट


  •  
  •  
  •