नेपाल न त जापान बन्ने भयो, न गुजरात, हाइटी पनि बन्दैन

176
  •  
  •  
  •  

Rabindra samirएउटा दाता सम्मेलन भयो र अरु पनि हुनेछन । यो महाभूकम्पको कारण नेपाल न त जापान बन्ने भयो, न गुजरात । हाइटी पनि बन्दैन । ग्रिस बन्छ कि भन्ने ठूलो खतरा छ । नेतृत्वमा दुरदृष्टिको खडेरी परेको समयमा पाएसम्म जति पनि ऋण लिने प्रवृति खतरनाक देखिएको छ !

नेपालले स्पष्ट भन्न सक्नुपर्छ कि :

१. हामीलाई ऋण चाहिंदैन ! हामीसँग ऋण तिर्न सक्ने परिस्थिति छैन । १ खर्ब ऋणको सट्टा बरु २० अर्ब सहयोग गर्नुहोस । भविष्यमा ऋण तिर्न नसकेर राष्ट्र नै अरुको बन्धक बन्ने वा ऋणले टाट पल्टिएर समस्याग्रस्त देशलाई अरु देशले जिम्मा लिनुपर्ने स्थिति आउने ठूलो खतरा छ । यसै त हामी सबैको टाउकोमा प्रति व्यक्ति झन्डै २०,००० रुपैयाँ ऋण बोकेका छौं ।

२. हामीलाई आफुले ९० % प्रसाशनिक खर्च गर्ने बाँकी १०% सहयोगको कनिका छरेर अरबौं सहयोग गरेको प्रचार गर्ने टाइपको सहयोग चाहिंदैन ।

३. हामीलाई कुहिएर डल्लो परेका चामल, दाल चाहिंदैन । बरु गिठा भ्याकुर खाएर स्वस्थ बन्छौं तर अखाध्य पदार्थको प्रवेश निषेध छ ।

४. हाम्रो विश्वास लाग्दैन भने “शंकाको सुबिधा ” दिन्छौं । हामीलाई एक रुपियाँ चाहिंदैन, हाम्रो नियम कानुन भित्र रहेर आफैले ध्वस्त संरचना निर्माण गर्नुहोस, सरकारले उचित वातावरण प्रदान गर्नेछ ।

५. हामीलाई यति दिन्छौं, यो गर्छौं भनेर आश्वासन नदिनुहोस । बोलेको बचन पुरा गर्नुहोस । बचनको तौल छैन भने नबोल्नुहोस ।

६. सहयोगको नाममा राष्ट्रिय स्वाभिमान, एकता, धार्मिक – जातीय – बैचारिक – साम्प्रदायिक चेस नखेल्नुहोला । जसले यो निकृष्ट खेल खेल्छ, त्यो ब्ल्याक लिस्टमा पर्नेछ ।

७. यहांहरुले सहयोग गर्ने ठोस योजना र निश्चित अबधि भित्र काम सम्पन्न नगरेमा म्याद थप नहुन सक्छ । सियो बनेर छिरेर हात्ती बनेर बस्न पाइनेछैन ।

८. हामीले एक रुपियाँ दुरुपयोग, भ्रष्टाचार, लोभ ..गरेको प्रमाणित भएमा हामी हेग त के फाँसी चढ्न र चढाउन प्रतिबद्ध छौं । यो बिपतमा हामी सहयोगको दुरुपयोग गरेर नर्कको बाटो जानेछैनौं ।


  •  
  •  
  •