यस्ता छन् रवीन्द्र अधिकारीसहित ७ को ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाका कारण

80
  •  
  •  
  •  

काठमाडौं । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको ज्यान जानेगरी ताप्लेजुङ पाथिभरामा भएको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

एक वर्षअघि भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानविनका गर्न सरकारले यज्ञप्रसाद गौतमको अध्यक्षतामा समिति गठन गरिएको थियो ।

उक्त समितिले दुर्घटनाबारे संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई आइतबार प्रतिवेदन बुझाएको छ । समितिमा व्रिगेडियर जनरल दीपकप्रसाद बास्तोला र अवकाशप्राप्त पाइलट कर्णेल प्रमोदकुमार लामा सदस्य थिए भने बुद्धिसागर लामिछाने सदस्य सचिव थिए ।

समितिले दुर्घटनाको मुख्य कारण खराब मौसम रहेको निष्कर्ष निकालेको छ । ‘पाथिभरा हेलिप्याडबाट उड्नेवित्तिकै उक्त हेलिकप्टर शक्तिशाली हावासँग जुधेको र हिमपात पनि भइरहेको थियो। यस्तो अवस्थामा पाइलटले परिस्थितिजन्य सावधानी गुमाए, फलस्वरुप दुर्घटना भयो’ समितिले सम्भावित कारणको रुपमा उल्लेख गरेको छ ।
पाथिभरा क्षेत्रको मौसम खराब हुँदा सोही समयमा ताप्लेजुङ एयरपोर्ट समेत बन्द भएको थियो । विमानस्थलको भिजिबिलिटी नै २ किलोमिटर हुँदा टावर बन्द भएको थियो ।

मौसम खराब भएकै कारणले पाइलटले हेलिकप्टर पुनः पाथिभरा हेलिप्याडमै लिन खोजेको हुन सक्ने समितिको आँकलन छ । हेलिकप्टर सिँधै नउडी घुमेर हेलिप्याड नजिकै पुगेको समितिले जनाएको छ ।
दुर्घटनाको छानविन गर्न गठित समितिले उक्त हेलिकप्टर जमिन छाडेको ३५ सेकेन्डमै दुर्घटनामा परेको निष्कर्ष निकालेको छ ।

फाइल तस्बिर

बिहानको ११ः४५ मा हेलिकप्टर पाथिभरा अवतरण गरेको थियो । हेलिकप्टर १२ः३४ मा दुर्घटनाग्रस्त भएको थियो ।
प्रत्यक्षदर्शीहरुलाई उदृत गर्दै समितिले जमिन छाड्नेवित्तिकै हेलिकप्टर दुर्घटनामा परेको बताएको छ ।
दुर्घटनास्थल र हेलिप्याडबीचको दुरी ०.२ नटिकल माइलमात्र –३७० मिटर) रहेको छ । हेलिकप्टरले राउन्ड लगाएको प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनमा भनिएको छ,‘त्यो समयमा धेरै टाढा जानुपर्ने हो तर हेलिकप्टरमा समस्या आएर फेरि हेलिप्याडमा फर्किने प्रयास गरेको जस्तो देखिन्छ ।’

दुर्घटनाको मुख्य कारणमा मौसमसँगै व्यवस्थापकीय कमजोरी रहेको समितिको ठहर छ । समितिका अनुसार सातजना सवार उक्त हेलिकप्टरमा अगाडि पाइलटसहित ३ जना यात्रु बसेका थिए । अगाडि बस्ने ती ३ जना को थिए भन्ने बारे जानकारी नभए पनि, पछाडि चारजना थिए ।

जवकी सेन्ट्रल अफ ग्राभेटी मिलाउनका लागि विमानस्थलमा बुझाएको पत्रमा भने उनीहरुले अगाडि २ र पछाडि ५ जना बस्ने भनेर सिट प्लानिङ गरेका थिए । जुन उनीहरुले लागू गरेनन् ।
तौल मिलाउन नसक्दा पाइलटलाई असहज अवस्था आएको र कठिन समयमा सही निर्णय लिनबाट चुकेको हुनसक्ने समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार तेह्रथुम पुग्दा २४० केजी इन्धन बाँकी र पाथिभराबाट हिँड्दा १९५ केजी बाँकी रहेको हुनसक्ने देखिएको छ ।

त्यस्तै पाइलटले होस गुमाएको हुनसक्ने समितिले निष्कर्ष निकालेको छ । हाइपोक्सियाको प्रारम्भिक लक्षण देखिएर कठिन परिस्थितिमा पाइलटले होस गुमाउँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

काठमाडौंबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा फागुन १५ गते ताप्लेजुङको दारेभीरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा तत्कालिन पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुब भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको मृत्यु भएको थियो ।

हेर्नुहोस्

पूर्ण रिपोर्ट हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्


  •  
  •  
  •