प्रमुख पार्टीहरु मिलेर मलाई फसाउन खोजेः रवि लामिछाने

93
  •  
  •  
  •  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशका प्रमुख पार्टीहरु मिलेर आफूलाई फसाउन खोजेको आरोप लगाएका छन्। दुई वर्ष अघि सम्म सञ्चारकर्मीका रुपमा आफूले काम गरेर कमाएको जनताको अपार समर्थन देखेर कांग्रेस, एमाले, माओवादीहरू मिलेर आफूलाई फसाउन खोजेको उनको आरोप थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तुले बाणगंगा नगरपालिकामा राखेको सभामा बोल्दै उनले एक आपसको आलोचन गर्ने ती पार्टीहरुले अहिले भने राष्ट्रिय स्वतन्त्र पाटीको खेदो खन्न सुरु गरेको बताए।

उनले जनताको आशीर्वाद पाउँदासम्म आफूलाई कसैसँग लुक्न र झुक्न नपर्ने बताए। ०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने बताउँदै उनले आगामी चुनावमा आ-आफ्नो पार्टीमै बसेर मत मात्र फेर्न आग्रह गरे।

‘नेपाली जनताले एउटा आशा देखेका छन्, एउटा सपना देखेका छन्, एउटा युग देखेका छन्, त्यो पुरा गर्न हामी तयार छौँ’ उनी भन्छन् ‘अब देशमा कोही भोको पेट बस्न नपरोस्, कसैका छोराछोरी शिक्षाबाट वञ्चित हुन नपरुन्, कोही उपचारबाट वञ्चित हुन नपरुन्, यही सङ्कल्प लिएर हिँडेका छौँ।’

एउटा गठबन्धन तोडेर अर्को गठबन्धन बनाएका प्रधानमन्त्रीले के गरिरहेका छन् ? आफूलाई थाह नभएको उनले सुनाए। सुनको फाइल खोल्दा आफ्ना साथीहरू नै सुनै सुनका पहेँला देखिने भन्दै उनले करोडौँको घोटालामा मन्त्रीहरुको नाम मुछिएको जिकिर गरे।

पुराना दललाई मत दिएर जिताउनु भनेको फेरि भ्रष्टाचार र अनियमिततालाई प्रश्रय दिए सरह हुने उनको भनाइ छ। कार्यक्रममा उपसभापति डिपी अर्याल, केन्द्रीय सदस्य अर्जुन अधिकारी, पशु विज्ञ होम क्षेत्री, लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेल, जिल्ला सभापति शिव सुवेदी, नेता विक्रम थापा लगायतले मन्तव्य दिएका थिए।


  •  
  •  
  •