यसरी सम्झीन्छन् श्रीकृष्णलाई कालाकारहरु

69
  •  
  •  
  •  

काठमाडौं ५ भदौ ।
(सुमन वाग्ले) लात्ती हानेर सरी भन्नुभयो
सरिता लामिछाने
उहाँसँग मैले फिल्म श्रीमान् श्रीमतीमा काम गर्ने मौका पाएकी थिएँ। क्लाइमेक्सको सटका लागि भृकुटीमण्डपमा थियौं। रातको १२ बजेको थियो। म बेहोस भएर उहाँले बोकर अस्पताल लानुपर्ने सिन थियो। निर्देशक (पति) ऋषि लामिछाने एक्सन भनेपछि उहाँले मलाई बोकेको २ मिनेट पनि भएको थिएन चिप्लिएकाले म लड्न पुगें तर फेस हात छोपेर जोगाइदिनुभयो। मेरो खुट्टामा भने चोट लाग्यो। म साँच्चिकै बेहोस भएछु, होसमा आउँदा उहाँको पनि हात र खुट्टामा चोट लागेको रहेछ। अर्को सिनमा मलाई उहाँले लात्ती हान्ने सिन थियो, पाप लाग्छ बरु हातले हान्छु प्लिज भन्नुभयो। लात्ती हान्नै पर्ने थियो, हानिसकेपछि प्लिज सरिताजी सरी सरी भन्नुभयो। उहाँ नारीलाई निकै सम्मान गर्ने व्यक्ति हुनुहुन्थ्यो।

फिल्म चल्नेमा ढुक्क थियो
सुनील मानन्धर
मैले त्यति धेरै संगत गरेर हिँड्ने मौका पाइनँ। तैपनि म फिल्मको वितरक भएको नाताले कोहिनुर चलाउने सन्दर्भमा बारम्बार कुराकानी हुन्थ्यो। उहाँले फिल्म कोहिनुर अलि पछि चलाउने कि भन्नुभएको थियो तर मैलै अहिल्यै चलाउनुपर्छ, फिल्म चल्छ भनेको थिएँ। मलाई मेरो फिल्म ४ हप्तासम्म जसरी भए पनि चलाइदिनुपर्छ है भन्नुभएको थियो। मैले अरु फिल्महरु पनि चलाउनुपर्छ कहाँ त्यत्रो ४ हप्तासम्म चलाउने भनेको थिएँ। मलाई फिल्म ४ हप्तासम्म मज्जाले चल्छ तपाईं ढुक्क हुनुस् फिल्म बरु पछाडि चलाउनुस् भन्नुभएको थियो। बिरामी भएर उपचारका लागि दिल्ली गएको बेला पनि मसँग कुराकानी गर्न खोजेको म्यासेज श्वेता बहिनीबाट आएको थियो तर फोनमा कुराकानी गर्न सक्ने अवस्था उहाँको थिएन। मैले उहाँको आवाज बुझिनँ र पछि श्वेता बहिनीले म्यासेज गरेपछि थाहा भयो फिल्म साउन २३ मा चलाउनुहोस् म छिट्टै आउँछु भनेको रहेछ।

बोलचाल नहुँदा पनि बचाउनुभयो
सारंगा श्रेष्ठ
श्रीजी अब हामीमाझ हुनुहुन्न। तर उहाँसँगका बिर्सनै नसिकिने सम्झनाका क्षणहरु थुप्रै छन्।
फिल्म सुन चाँदीको हे संगीता बोलको गीतको सुटिङका क्रममा भएको एउटा घटना पनि कहिल्यै बिर्सन्न। टुँडिखेलनजिकको आकाशे पुलमा काम सुटिङ हुँदै थियो। हामी दुवै त्यसको भर्याङबाट गाउँदै ओर्लनुपर्ने थियो। त्यो सुटिङ गर्दा खुट्टा मिस ब्यालेन्स भएर लडें। त्यतिबेला श्रीले आफ्नो हत्केला मेरो फेसमा राखेर फेस जोगाइदिनुभयो। इन्ट्रेस्टिङ कुरा के भने कुनै मिस अन्डरस्ट्यान्डिङका कारण हामीबीच बोलचाल थिएन, तर पनि मेरो अनुहार जोगाउन उहाँले सहयोग गर्नुभएको थियो। आई मिस हिम, अलवेज।

उहाँकै कारण म छु
झरना थापा
मेरो फिल्मी करियरको प्रेरणाको स्रोत उहाँ नै हुनुहुन्थ्यो। उहाँसँग मैले धेरै फिल्ममा काम गरेको छु। तर पनि ए मेरो हजुरमा अभिनय गर्दाको त्यो पल झलझली याद आउँछ। सायद मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण दिन थियो त्यो।
सुटिङ सेटमा नै अभिनय गर्न नजानेर म हैरान भएको थिएँ। अब म यो क्षेत्र नै छोड्छु भन्ने मनस्थितिमा थिएँ। अर्कै पेसा अपनाउनुपर्छ कि भन्ने योजनामा पुगिसकेको थिएँ। हरेश खाएको देखेर उहाँ म भएको ठाउँमा आएर सम्झाउन थाल्नुभयो। फिल गरेर राम्रोसँग गर गाह्रो हुन्न भन्नुभयो। उहाँकै बलले गर्दा मैले अभिनय गरें। फिल्म चलेपछि मैलै निकै नै सकारात्मक प्रतिक्रिया पाएको थिएँ। त्यति बेला हाम्रो जोडीलाई निकै नै सुहाएको जोडी भनिएको थियो। उहाँको र मेरो जोडी गोर्खाली फिल्मबाट जमेको थियो। सुटिङ नभएको बेला उहाँ प्रायः तास खेल्नुहुन्थ्यो। तासमा सधैं जित्ने गर्नुहुन्थ्यो। जितेको पैसाले सबैजनालाई खसीको मासु किनेर खुवाउनुहुन्थ्यो। उहाँ मासुको एकदमै सौखिन हुनुहुन्थ्यो।

मुस्कान बनाउने सल्लाह पाएँ
राजु शाह
उसले मलाई दाइ तपार्इंले नाचेर देखाउनुस् अनि म त्यस्तै गर्छु भन्थ्यो। ऊ नृत्यमा एकदमै अब्बल थियो। डे«स र मुभमेन्टमा निकै नै सिरियस थियो। हाम्रो सम्बन्ध व्यवसायिक सँगसँगै पारिवारिक पनि थियो। उसले र मैले हरेका वर्षको तिहारमा दिदी अनुराधा प्रधानको हातबाट टीका लगाउँथ्यौं। भेट हुँदा व्यवसायी कुरासँगै पारिवारिक कुराकानी हुन्थ्यो। मेरो विवाहको भोजभतेरमा उसले निकै नै दौडधुप गरेको थियो। २०५० सालमा कुरा हो। मैलै फिल्म बनाउने योजना बनाएँ उसले पहिला वितरकसँग कुराकानी गरौं दाइ त्यसपछि बनाऔं भन्यो। हामी त्यतिबेला वितरकसँग कुराकानी गर्न मोटरबाइकमा पोखरा गएका थियौं। फर्कंदा दमौली नजिकै बाटोमा चिप्लिएर लड्यौं। उसलाई सामान्य चोट लागेको थियो तर मलाई भने मेरो खुट्टा भाँचिएको जस्तो लाग्यो। मेरो खुट्टाको औंला चलेपछि उसले भाँचिएको छैन दाइ भनेर सम्झायो। फिल्म बनाउने योजनालाई वितरकको कुरापछि नगर्ने सल्लाह दियो र मैलै फिल्म बनाइनँ। त्यसको ७ वर्षपछि मात्रै मेलै उसको सल्लाहमा मुस्कान फिल्म बनाएँ।

श्रीकृष्णका प्रमुख फिल्महरू
भुमरी, कसम, पुकार, नाता, ट्रक ड्राइभर, राजमती, धर्ती, झझल्को, गरीब, निरमाया, सीता, सुन चाँदी, वर पीपल, गोठालो, धर्ती, प्रेम युद्ध, माइती, बुहारी, बेइमानी, आफ्नो मान्छे, आफन्त, ए मेरो हजुर, गोर्खाली, पाहुना, अजम्बरी नाता, हाम्रो माया जुनी जुनीलाई, जाली रुमाल, यस्तै हुन्छ पिरती, गुरु चेला, नाता रगतको, लक्ष्मी पूजा, भरोसा, जीवन रेखा, उनको सम्झनामा, सुख दुःख, हामी तीन भाइ, राम बलराम, दैव, कहाँ भेटिएला, आफ्नो मान्छे आफ्नै घर, मितेरी गाउँ, आफ्नो बिरानो, धर्म संकट, कोहिनुरलगायत।

अभैm यतै कतै हुनुहुन्छ भैं लाग्छ
आकाश अधिकारी
श्रीजी र मैले फिल्म को आफ्नो को बिरानोमा सँगै काम गरेका थियौं। उहाँले मलाई त्यति बेला दाइ म एउटा सामाजिक कथामा फिल्म बनाउँछु तपाईंले निर्देशन गर्नुपर्छ भन्नुभएको थियो। मैले जवाफमा हुन्छ भनेको थिएँ। पछि फिल्म कहाँ भेटिएलाको निर्देशन गर्न शिव रेग्मीलाई लिनुभयो। मेरो त्यतिबेला पनि भेट भएको बेला अर्को फिल्म तपाईंले निर्देशन गरिदिनुपर्छ है भन्नुभएको थियो र मैले हुन्छ भनें।

फिल्म कहाँ भेटिएलाको सफलताको समयपछि मलाई एउटा कथा सुनाउनुभयो र मैले पनि एउटा कथा सुनाएँ। मैले सुनाएको कथा एकदम मन पराउनुभयो र कोहिनुर बनाइने भयो। हामी पटकथा संवाद लेख्नका लागि दुईजना फ्रेस भाइहरु यसु थापा र विशाल सुब्बालाई लिएर नगरकोट पुगेका थियौं। उहाँ गीतलाई एकदमै फोकस गर्ने मान्छे हुनुहुन्थ्यो। फिल्मको कथाअनुसार एउटा हिन्दी गीत चाहिएको थियो। मैले रचना तयार पारेपछि शम्भुजित बास्कोटासँग बसेर गीत तयार गरेपछि रेकर्डिङका लागि मुम्बई गयौं।

श्रीजीले स्वर चित्त नबुझेर ३ जना भारतीय गायकगायिका चेन्ज गराउनुभएको थियो। राम्रो गीत निकाल्न जति पनि पैसा खर्च गर्न तयार हुनुभयो।
हामी टिमसहित नेपालबाट सुटिङका लागि भारत गयौं। उहाँले फिल्ममा थ्रुपै एक्सन गर्नुभएको छ। त्यतिबेला स्वास्थ्यमा कुनै समस्या थिएन। सुटिङको बेला भोक लाग्यो दाइ केही खाउँ न भन्नुहुन्थ्यो, छिनछिनमा खाइरहने बानी थियो। सुटिङ सकिएपछि प्राविधिक कामतिर लाग्यौं। त्यति बेलाबाट उहाँले खोक्न शुरु गर्नुभएको थियो। मैले उपचार गर्न आग्रह गरें, व्यापारको सिलसिलामा दिल्ली जाने काम छ त्यतिबेला उपाचार गरौंला भन्नुभयो। दिल्लीमा गएर डाक्टरको सल्लाहअनुसार घाँटीमा एलर्जी भएको पत्ता लागेर औषधी खान थाल्नुभएको थियो। औषधी खाँदै दौडधुप गरेर विवाहको तयारीमा जुट्नुभयो। विवाह सकिएलगत्तै हनिमुनका लागि सिमला जानुभयो। त्यसपछि पनि स्वास्थ्यमा समस्या आएका कारणले गर्दा थप उपचारका लागि दिल्ली जानुपर्ने भयो भन्ने खबर पाएँ। त्यतिबेला फिल्म डबिङको क्रममा थियो। डबिङ गर्न नसक्ने अवस्थाका कारणले म आफैंलाई डबिङ गर्नू भनेर भन्नुभएको रहेछ। श्वेता बहिनीबाट थाहा पाए र आफैंले गरें। फिल्मको रिलिज डेट नजिकिँदै गएको थियो आउनुहोला भनेर कुरेको थिएँ तर आउनुभएन । फिल्मको प्रेस मिट उहाँबिना नै गर्यौं।

फिल्म हलसम्म पुगिसक्दा पनि आउन सक्नुभएन, बरु कारुणिक स्वरमा भ्वाइस रेकर्ड गरेर सन्देश पठाउनुभयो। साउन २३ गते शुक्रबारको दिन हलमा फिल्म चलेपछि पहिलो शोको अपडेट र दर्शकबाट पाएको प्रतिक्रिया फोनबाट सुनाएँ। निकै नै खुसी हुनुभएको थियो। साउन २४ गते शनिबारको दिन फिल्मको व्यापार उत्साहजनक थियो। शनिबारको अपटेड गराएर म घरतिर फर्केको थिएँ। रातको १२ बजे मीन दाइ (स्व. श्रीकृष्णका दाजु) ले फोन गर्नुभयो र निधन भएको खबर दिनुभयो। मैले अत्तालिएर फोन काटें, मलाई विश्वास नै लागेन। फेरि पछि पनि फोनमा कुराकानी भएपछि पनि विश्वास नै लाग्यो। मलाई रातभरि निन्द्रा लागेन के गरौं कसो गरौं भयो। भोलिपल्ट सबैलाई खबर गरें, दिल्लीबाट शव ल्याउनका लागि पहल गरें। मलाई अझै पनि यतै कतै हुनुहुन्छ जस्तो लाग्छ। सुटिङका बेला बिताएको त्यो पल मेरो आखँँको वरिपरि नाचिरहेका छन्।

रनालाई उहाँसँगै विदेश पठाउँथे
सुनीलकुमार थापा
फिल्म क्षेत्रमा आउँदा भेट भएको पहिलो व्यक्ति उहाँ हुनुहुन्थ्यो। त्यतिबेला पहिलो फिल्म धर्मसंकट बनाउन लागेको थिएँ तर उहाँले समय दिन सक्नुभएन र सँगै काम गर्न सकेनौं। पछि मैले गोर्खाली बनाउँदा सँगै काम गर्ने मौका पाएँ। फिल्म हिट भयो उहाँको र मेरो मिसेस झरनाको जोडीलाई दर्शकले एकदम मन पराउनुभयो। प्रायः मैलै बनाएका धेरै फिल्ममा उहाँ नै हिरो हुनुहुन्थ्यो।
फिल्म ए मेरो हजुरको छायाँकनको बेला हामी पोखरामा थियौं। एक द्वन्द्वको दृश्यमा उहाँ हाम फाल्नुपर्ने थियो। हामफाल्दा सन्तुलन नमिलेकाले उहाँ लड्नुभयो। खुट्टा भाँचिएका कारण १ महिनासम्म सुटिङ रोक्नुपरेको थियो। उहाँसँग पारिवारिक सम्बन्ध पनि थियो। जुनसुकै काम गर्दा पनि सल्लाह गथ्र्यौं। हामी एकै परिवारको सदस्य जस्तै थियौं। झरनालाई एउटा विदेशको प्रोगाममा उहाँकै जिम्मा लगाएर पठाएको थिएँ।

नेपालसमाचारपत्र


  •  
  •  
  •