उपेन्द्र यादवको सम्झनामा त्यो एमाले, यो एमाले

205
  •  
  •  
  •  

काठमाडौं १० कात्तिक ।
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव कात्तिक १ गते एमाले मुख्यालय बल्खुमा चियापान समारोहमा पुग्दा भीडभाडले खुट्टा राख्ने ठाउँ थिएन ।

उपेन्द्रले मुख्यालय गेटमा दोस्रो तहका नेताहरुको स्वागत पाए । स्वयंसेवी कार्यकर्ताको घेरामा शीर्ष नेताहरु नजिकै पुगे । तर, तुरुन्तै शीर्ष नेताहरुसँग भेट्न पाएनन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस नेता शेरबहादुर देउवा, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ सञ्चारकर्मीको घेरामा थिए ।

बायाँपट्टी केरा र जेरी खाँदै झण्डै आधा घण्टा बिताए । उनलाई एमालेका नेता कार्यकर्ताले साथ थिए । आधा घण्टापछि अध्यक्ष केपी शर्मा ओलीसँगैको कुर्सीमा करिव १५ मिनेट विताए । सँगै रहेका राजेन्द्र महतोसहितका मधेसवादी नेताहरुलाई भन्दा ओलीको बढ्ता घनिष्टता उपेन्द्रसँग थियो । दुई नेताको मुख र कान धेरैबेर नजिक रहेको देखिन्थ्यो । कारण- उनी पूर्वएमाले थिए ।

उपेन्द्र शुभकामना साटासाटपछि पनि बल्खु परिसरमै केहीबेर अलमलिए । उनका पूर्वसहकर्मी एमाले नेता कार्यकर्ताले पनि फेरि पनि उपेन्द्रसँग आत्मियता साटे । ‘सवै साथीहरु हुन् । कहिं न कहिं भावनात्मक सम्बन्ध त हुन्छ,’ एमाले उपाध्यक्ष भीम रावलसँग शुभकामना साट्दासाट्दै उनी ईकान्तिपुरसित खुले, ‘यो पुरानो काम गरेको ठाउँ हो ।’

एमाले मुख्यालय बल्खुमा उनी चियापानमामात्रै होइन, अरुबेला पनि आउँछन् । पार्टीका बैठक, छलफलमा पनि बल्खु आउने गरेका छन् । मर्दापर्दा काम लाग्ने पुरानै साथीहरु हुन् भन्ने पनि उनले बिर्सेका छैनन् । ‘पार्टी छाडेपछि पुरानो ठाउँमा आउनै हुन्न भन्ने होइन,’ उनको भनाइ थियो, ‘आउँछु काम पर्दा ।’

२०५४ सालमा एमाले त्यागेर तत्कालिन विद्रोही माओवादीको जनयुद्धमा होमिएका उपेन्द्रले पार्टीमा पछिल्ला दिनहरुमा ठूलो भिन्नता आएको बताए । ‘भास्ट डिफरेन्स छ,’ एमालेबारे उनको मूल्यांकन छ, ‘पहिले विचारधारा समातेको थियो । अहिले समयसापेक्ष रुपान्तरित (विचार छाडेको) छ ।’ उनले ‘आइडोलोजीबेस्ड्’ पार्टी अहिले ‘पावर पोलिटिक्स’मा रहेकाले परिवर्तन हुनु पनि ‘स्वभाविक’ भएको टिप्पणी गरे ।

उपेन्द्रको नजरमा एमालेको वर्तमान नेतृत्वचाँहि कस्तो छ त ? ‘धेरै परिवक्व र सुझबुझपूर्ण नेतृत्व छ,’ केन्द्रीय कमिटीका नेताहरुकै बीचमा उनले भने, ‘कम्युनिष्ट आन्दोलनचाँहि केही धूमिल भएको छ ।’ पार्टी निर्माणताकाका पुराना नेता उपेन्द्रले सम्भिmएन, ‘जुन लक्ष्यसाथ पार्टी बनेको थियो, एमालेले बाटो बिराएको छ ।’

तर, एमालेसँग उपेन्द्रको चित्त दुखाइ पनि छ । श्रमजीवी मजदुर वर्गको हितका सदन्र्भमा र मधेसका विषयमा एमलो ‘बढ्ता नेगेटिभ’ भएको उपेन्द्रको ठम्याई छ । ‘बढो बिटर एक्पेरियन्स छ । जतिबेला मदनजी (तत्कालिन महासचिव मदन भण्डारी)ले तराई-मधेसप्रति पोजेटिभ हुनुहुन्थ्यो । उहाँले मधेस-तराई समस्या अध्ययन कार्यदल बनाउनुभएको थियो,’ कार्यदल सदस्यसमेत रहेका उनले भने, ‘तर, आग्रह/पूर्वाग्रहले काम गर्न सकिएन । कार्यदलका सायद कुनै पनि सदस्य अहिले एमालेमा छैनन् ।’

कान्तिपुरबाट


  •  
  •  
  •