काठमाडौं । कतारमा नेपालसहित दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेकोे छ । नेपाली दूतावास कतारका अनुसार नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायतका देशबाट कतार प्रवेश गर्दा पालना गर्नुपर्ने नियममा परिमार्जन गरेको हो ।
कतार प्रवेशका लागि मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट पीसीआर परीक्षण गरेको ७२ घण्टाभित्रको नेगेटिभ प्रमाणपत्र साथमा हुनुपर्ने पुरानो नियम यथावत् राख्दै कतारले नयाँ पनि तोकेको छ ।
नयाँ नियम अनुसार कतारमा पहिलोपटक प्रवेश गर्ने विदेशी यात्रुले कतार सरकारले सञ्चालनमा ल्याएको वेबसाइटमा लगईन गरी पीसीआर परीक्षणको प्रमाणपत्र, खोप लगाएको प्रमाणपत्र र अन्य आवश्यक कागजातहरु अपलोड गरि प्रि–रजिष्ट्रेशन गर्नुपर्ने दूतावासले जनाएको छ ।
मोबाइलमा इटेराज मोबाइल एप्लिकेशन अनिवार्य डाउनलोड गर्नु पर्ने भन्दै दूतावासले त्यसको लागि नेपालको सीमकार्डका पनि प्रयोग गर्न सकिने दूतावासले जनाएको छ ।