आज कतारबाट २० जना नेपालीको शव ल्याइँदै

309
  •  
  •  
  •  

काठमाडौं । आज कतारबाट २० जना नेपालीको शव ल्याइँदैछ । शवहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थल आइपुग्नेछ ।

कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउनेछ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो।

वैदेशिक रोजगार बोर्डका अनुसार कतार एयरलाइन्समा कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डलको शव आउँदै छ।

यसैगरि मोरङको कोसी हरैँचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, मकवानपुरको भीमफेदीका जितेन्द्र थापामगर, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव पनि कतार एयरलाइन्सले शुक्रबार ल्याउँदै छ।

वैदेशिक रोजगार बोर्डका अनुसार कतार एयरलाइन्सबाट आउने शवमध्ये ७ वटा परिवारले काठमाडौँमा जिम्मा लिन र बाँकीलाई उनिहरुका जिल्लामा पुर्‍याइनेछ ।

शुक्रबार साउदी अरब, यूएई र कुवेतबाट पनि चार वटा शव आउँदैेछन्। जजिरा एयरलाइन्सले कुवेतबाट दुई जनाको शव ल्याउँदै छ। हिमालयन एयरलाइन्स र नेपाल एयरलाइन्सले साउदी र यूएईबाट एक एक वटा शव ल्याउँदैछन्। कुवेतबाट संखुवासभाका मानबहादुर आले र नुवाकोटका सोनु तामाङको शव आउँदै छ। युएईबाट सिन्धुपाल्चोकका पेम्बा नोर्बु शेर्पा र साउदी अरबबाट भैरबबहादुर बस्नेतको शव ल्याईँदै छ।

बोर्डका अनुसार खाडीका ६ देश, मलेसिया, दक्षिण कोरिया र अन्य देशमा गएको शुक्रबारसम्ममा २७२ पुरुष र १४ जना महिला गरी २८६ जनाको ज्यान गएको छ ।

सबैभन्दा बढी साउदीमा ८० जनाको ज्यान गएको छ । त्यसपछि यो अवधिमा मलेसियामा ६० जना, यूएईमा ६३ जना, कतारमा ४१ जना, कुवेतमा १७ जना, बहराइनमा ७ जना, ओमानमा १ जना, दक्षिण कोरियामा पाँच जना र अन्य विभिन्न देशमा ज्यान गुमाउनेको संख्या १२ छ ।

बोर्डले जनाएअनुसार शुक्रबारसम्ममा मृतकमध्ये ९७ का परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् ।


  •  
  •  
  •