सामाजिक अभियन्ता राधा पौडेलको ‘अपवित्र रगत’ पुस्तक विमोचन

119
  •  
  •  
  •  

काठमाडौं, २९ माघ(ओएनएस) : सामाजिक अभियन्ता राधा पौडेलको ‘अपवित्र रगत’ पुस्तक विमोचन गरिएको छ ।

मंगलबार ललितपुरमा आयोजिक एक कार्यक्रमकाबीच राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, पुस्तककी लेखिका राधा पौडेल, नर्स तथा समाजसेवी टुका क्षेत्री सन्डेवल, जुम्लाका समाजसेवी पदम रोकाय, सामाजिक अभियन्ता चैत्य गिरी, विन्दु पौडेल र बागेश्वरी मावि भक्तपुरकी छात्रा कृस्ट्रिना कुसीले संयुक्त रुपमा पुस्तकको विमोचन गरेको हुन् ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि मानव अधिकार आयोगका अध्यक्ष शर्माले सामाजिक कुसंस्कारलाई पुस्तकमा विद्रोहीको रुपमा उजागर गरिएको भन्दै यसले समाजमा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

अध्यक्ष शर्माले छाउ प्रथालाई कानूनले नै अपराधको रुपमा लिएको भन्दै यसलाई परिवर्तन गर्न मानसिक परिवर्तनको खाँचो रहेको औँल्याए ।

कार्यक्रममा समाजसेवी टुका क्षेत्रीले पुस्तकले समाजमा परिवर्तन ल्याउनका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

अर्का समाजसेवी पदम रोकायले पछिल्लो समय समाजमा छाउविरुद्ध सचेतना बढ्दै गएको बताए ।
अभियन्ता चैत्य गिरीले विस्तारै महिलाहरु छाउगोठमा बस्न छोडेको बताइन् ।

पुस्तकका लेखिका पौडेलले बच्चा उमेरदेखि नै बाल मनोविज्ञान परिवर्तन गर्नुपर्ने, सोच र संस्कृति परिवर्तन गर्नुपर्ने निष्कर्षमा आइरहेको बेला पुस्तक बजारमा आएको बताइन् ।

महिला वा पुरुष, समाजसेवी वा साहित्यप्रेमी, राजनीतिकर्मी जो जहाँ भएपनि रमाइ रमाई पुस्तक पढ्न उनले आग्रह गरिन् ।

कार्यक्रममा राधा पाउन्डेसनकी संयोजक अनुपा रेग्मीले पुस्तकले भोलीका दिनमा परिवर्तन ल्याउने बताइन् ।
कार्यक्रममा बागेश्वरी माविकी छात्रा कृष्टिना कुसी र लेखिका पौडेलकी बुहारी विन्दु पौडेलले महिनावरी हुँदाका अनुभव सुनाएका थिए ।

पुस्तक काठमाडौं पब्लीकेशनले प्रकाशनमा ल्याएको हो ।  अभियन्ता पौडेलको यो चौथो कृति हो । यसअघि खलङ्गामा हमला, शान्तिका पाइला कविता संग्रह, मर्यादित महिनावारी लगायत तीन वटा कृतिहरु प्रकाशनमा आइसकेका छन् । खलङ्गामा हमलाले यसअघि वि.स २०७० सालमा मदन पुरस्कार पाइसेकेको छ ।


  •  
  •  
  •