गोदाममै थन्कियो पाठ्यपुस्तक

352
  •  
  •  
  •  

मुगु । मुगको सोरु गाउँपालिकामा शैक्षिक सत्र शुरु भएको दुई महिना वितिसक्दा समेत अझै पाठ्यपुस्तक पुग्न सकेको छैन् ।

अहिले पाठ्यपुस्तक सदरमुकाम गमगढीमा विक्रेताका गोदाममा नै थन्किएका छन् । नयाँ शैक्षिक सत्र शुरु भएको दुई महिना पुगिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयमा पुस्तक नपुग्दा पाठ्यपुस्तक बिना नै विद्यार्थीहरु विद्यालय जान बाध्य छन् ।

प्राथमिक विद्यालय स्तरका विद्यार्थीको हातमा पुस्तक पुगेको भएपनि निमावि र मावि स्तरका विद्यार्थीले पुस्तक पाउन नसकेका शिक्षकहरु बताउँछन् ।

शैक्षिक सत्र शुरु नहुँदै सबै जिल्लामा पाठ्यपुस्तक पु¥याउने भनिएपनि सोरु गाउँपालिकामा भने पाठ्यपुस्तक अहिलेसम्म पुगेको छैन ।

विगतका वर्षहरुमा समयमा नै पाठ्यपुस्तक विद्यार्थीले नपाएपछि आलोचना खेप्दै आएको सरकारले यो वर्ष पनि समयमै पाठ्यपुस्तक विद्यार्थिको हात सम्म पु¥याउन सकेको छैन् ।

यता सदरमुकामसम्म पुगेको पाठ्यपुस्तक विद्यालयले नलग्दा कतिपय विद्यार्थीले पुरानो किताब प्रयोग गरि रहेका छन् भने कतिपयले पुस्तक बिना नै विद्यालय जाने गरेका छन् ।

अन्य गाउँपालिकामा पुस्तक पुगेपनि सोरु गाउँपालिकामा रहेका ४१ विद्यालयले प्राथमिक स्तरका पाठ्यपुस्तक पाएपनि निमावि र मावि स्तरका पाठ्यपुस्तक भने पाउन नसकेको सोरुगाउँपालिका शिक्षा शाखाका प्रमुख हिक्मत मल्लले बताए ।

मुगुका लागि त्रिशक्ति स्टेशनरी, जयलक्ष्मी पुस्तक पसल र केवी स्टेशनरीले पाठ्यपुस्तक ल्याउने जिम्मेवारी लिएका थिए । उनिहरुले पुस्तक सदरमुकाम गमगढीसम्म ल्याई पु¥याएका छन् । तर विद्यालयले पुस्तक लिन नआउँदा विद्यार्थीले पुस्तक बिनै पढिरहेको छन् ।

सोरु गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका शिक्षक राखेर छिटो पुस्तक लैजान ताकेता गरेपछि केहि विद्यालयले पुस्तक लिएका र केहि लिने क्रममा रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुर्यबहादुर खत्रीले जानकारी दिए ।

जिल्लाभरका सबै सरकारी विद्यालयमा शैंक्षिक सत्र शुरु नहुँदै पाठ्यपुस्तकको रकम पठाई सकिएको प्रमुख खत्रीले बताए ।
यता सदरमुकाम सम्म पाठ्यपुस्तक विक्रेताले भने सम्बन्धित विद्यालयले पुस्तक लिन नआएका कारण गोदाममा नै पुस्तक थन्क्याउनु परेको बताए ।

हामीले गमगढीसम्म पुस्तक ल्याएका छौं । छायानाथ रारा नगरपालिका, मुगुम कार्मारोङ गाउँपालिकामा रहेका विद्यालयले पुस्तक लिएपनि सोरुगाउँपालिकाका अधिकांश विद्यालय पुस्तक लिन नआउँदा पुस्तक गोदाममै थन्क्याउनु परेको पुस्तक विक्रेता जयलक्ष्मी स्टेशनरीका सञ्चालक लक्ष्मीप्रसाद भामले बताए ।


  •  
  •  
  •