प्रचण्डले भने, ‘भारतले जे भन्यो त्यही मान्दैनौ’

227
  •  
  •  
  •  

prachandaकाठमाडौ, ४ असोज(ओएनएस) : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतलाई नेपाली नेताहरूले भारतले जे भन्यो त्यही गर्छन् भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

टुडिखेलमा सरकारले आयोजना गरेको विषेश समारोहमा बोल्दै एमाओवादीका अध्यक्ष प्रचण्डले आफूहरू छिमेकी मित्र हुन चाहेको न की छिमेकीले जे भन्यो त्यही मान्ने हुन नचाहेको बताएका छन् । उनले भारतका जायज चासो र चिन्तालाई सम्बोधन गर्न आफूहरू तयार रहेको भन्दै नेपालको चासो र चिन्तालाई पनि भारतले सम्बोधन गर्नुपर्ने बताएका छन् । उनले संविधान निर्माणको प्रक्रियामा सहयोग गर्ने सबै छिमेकी राष्ट्रहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले संविधान जारी भएको दिन असोज ३ गतेलाई सम्झदै आफूहरूले नयाँ युगको सुरूवात गरेको बताए । उनले नेपाली जनतालाई केही व्यक्तिले बनाएको आयोगबाट संविधान दिने परम्पराको अन्त्य गर्न सकेको उल्लेख गर्दै जनताकै प्रतिनिधिले संविधान लेख्ने नयाँ युगको सुरूवात गरेको बताए । उनले भने, ‘एउटा युगको शुरुआत भएकोमा सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीलाई हार्दीक बधाई तथा शुभकामना दिन्छु ।’

उनले अहिलेको अवस्थामा आइपुग्नका लागि हजारौ नेपाली सपूतले बलिदान दिएको र ठूलो संघर्षबाट मात्र यो अवस्थामा आइपुग्न सकिएको स्मरण गरे ।

उनले केहि व्यक्ति तथा दललाई संविधानसभाबाट संविधान ल्याउने कुरा चित्त नबुझेको तर सबै चुनौतीलाई परास्त गरेर देशलाई नयाँ संविधान दिन सफल भएको बताएका छन् । उनले भने, ‘संघीयता नयाँ अभ्यासमा हामी जाँदै छौं । समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता पनि यस संविधानको विशिष्ट विशेषता हो। यसको रक्षा गर्ने, समृद्ध पार्ने र यसलाई कार्यान्वय गर्न हामी सबै नेपालीको जिम्मेवारी उत्तिकै छ ।’

उनले मधेसी दल तथा असन्तुष्ट समूहलाई वार्ताका लागि आग्रह गर्दै भनेका छन्, ‘अन्य भेगका जनतालाईभन्दा मधेसका मधेसीका मुद्दा बढी सम्बोधन भएको छ । नागरिकता, समानुपातिक प्रतिनिधित्व जस्तो मुद्दा सम्बोधन भएका छन् । सीमांकनका विषयमा रहेका असहमति पनि वार्ताबाट समाधान गर्न सकिन्छ ।’


  •  
  •  
  •