पुस २७ मा सार्वजनिक विदा दिन राप्रपा नेपालको माग

183
  •  
  •  
  •  

Rppकाठमाडौं, २८ मंसिर (ओएनएस) : रााष्ट्रिय प्रजातन्त्र पाटी नेपालले पुस २७ गते मनाइने पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिन सरकारसमक्ष माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुटवाटरमा प्रधानमन्त्री सुशील कोइराललाई आइतबार भेट गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले पुस २७ लाई राष्ट्रिय पर्वका रुपमा मनाइनुपर्ने र नेपाली कागजी नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्नुपर्ने मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री सुशील कोइराललाई बुझाएका हुन् । भेटमा थापाले संविधान निर्माण प्रक्रियामा प्रमुख राजनीतिक दलहरुले आफ्नो पार्टीलाई निषेध गरेको भन्दै आपत्ति जनाएका थिए ।

भेटमा संविधान निर्माणबारेसमेत कुरा भएको र प्रधानमन्त्री कोइरालाले सकेसम्म सहमतिका आधारमा र नभए प्रक्रियामा गएर भएपनि आगामी माघ ८ भित्र संविधान बन्ने दृढता व्यक्त गर्नुभएको अध्यक्ष थापाले बताए ।

अध्यक्ष थापाले केही दिनअघि संयुक्त अधिराज्य बेलायतका नेपालस्थित राजदूत एन्ड्रु जेम्स स्पार्कस्ले धर्म परिवर्तन गर्न र गराउन पाउनुपर्ने अधिकार संविधानमा सुनिश्चित हुनुपर्ने भनी सार्वजनिक रुपमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण गराउँदा प्रधानमन्त्रीले त्यसबारेमा परराष्ट्र मन्त्रालयमार्फत आधिकारिक जानकारी लिने आश्वासन दिएको भएको पनि थापाले जानकारी दिए ।


  •  
  •  
  •