काठमाडौ, १६ मंसिर(ओएनएस) : सरकारले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई पुर्नगठन गर्ने विषयमा छलफल सुरू गरेको छ । खेलकुद मन्त्रालयले गरेको प्रस्तावमा सरकारले पुर्नगठनका लागि छलफल सुरू गरेको हो ।
खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेकाले सरकार छलफलमा रहेको जानकारी दिएका छन् । अहिलेको संरचनाले अपूर्ण रहेको र सबै खेल क्षेत्रलाई समेट्न नसकेकोले पुनर्गठन गर्नुपर्ने विषयमा छलफल सुरू भएको उनको भनाई थियो ।
अन्तराष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भमा अनेरास्ववियूले मंगलबार काठमाडौंको भुकुटीमण्डपमा आयोजना गरेको ह्वील चियर दौड प्रतियोगिता उदघाटनमा उनले खेलकुद परिषदलाई राजनीतिक भर्तीगर्ने ठाउँबाट मुक्त गर्न पनि पुर्नगठन आवश्यक रहेको बताए । ‘परिषदलाई राजनीतिक नियुक्तिको भर्ती केन्द्र बनाइरहेसम्म यसले प्रगति गर्न सक्दैन’ उनले भने, ‘राजनीतिबाट मुक्त राख्ने गरि अब पुर्नगठन आवश्यक भइसकेको छ ।’
अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा अनेरास्ववियुले भृकुटीमण्डपमा गरेको ह्वीलचेयर दौड सुरु गरेको थिया । ह्वीलचेयर दौड शहिदगेट, शान्तिबाटीका हुदै पुनः भृकुटीमण्डपमा आएर सकिएको थियो । दौडमा पुरुषतर्फ सन्जय चौधरी र महिला तर्फ सोनिका ढकाल पहिलो भएकी छिन् । प्रतियोगितामा ५० जना ह्वील चियर सहित सहभागी भएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए । प्रथम हुनेलाई ७ हजार पुरस्कार दिइएको छ ।