कारबाही खेलाडीलाई होइन क्यानलाई हुनसक्छ : खेलकूदमन्त्री

313
  •  
  •  
  •  

कारबाही गर्ने स्थिति पैदा भयो भने सरकारलाई कसैले रोक्न सक्दैन । सकेसम्म सरकारले हस्तक्षेप नगरौ भन्ने स्थिति हो । अहिलेपनि हस्तक्षेप गर्न हुने र नहुने भन्दै मत विभाजित स्थिति छ । यस्तो अवस्थामा सरकार सकेसम्म उतैबाट समस्या समाधान होस भन्ने चाहन्छ । तर खेलनै खतरामा पर्ने स्थिति भयो खेलाडीनैपलायन हुने स्थिति भयो भने सरकारले रमिता हेरेर बस्दैन । क्यान कारबाहीमा पर्छ ।
ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेलिसकेको नेपाली क्रिकेट टिमका खेलाडीले आफ्नो पारिश्रमिक समेत नपाएको भन्दै क्रिकेट एसोसियसन अफ नेपाल (क्यान)को नेतृत्व स्वीकार गर्न नसक्ने जनाइसकेका छन् । समग्र क्रिकेट क्षेत्रको विकासको लागि क्यानको अहिलेको नेतृत्वले ध्यान नदिएको भन्दै राष्ट्रिय टिमका खेलाडीले जारी राष्ट्रिय प्रतियोगिता नखेल्ने घोषणा नै गरे । विश्वकपको बेला खेलकुद क्षेत्रको विकासको लागि कुनै कसर बाँकी नराख्ने बताएको खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले यो घटनाक्रमलाई कसरी लिएका छन् त ? ओएनएसन्यूजको लागि राजु केसीले लिएको अन्र्तवार्ता :
राष्ट्रिय खेलाडीहरुले क्रिकेट संघ क्यान नेतृत्वलाई असक्षम भन्दै आन्दोलनमा उत्रिएकोमा सरकारको धारणा के हो ?
सरकारले बहिस्कार र स्वीकारको कुरा गर्दैन । सरकारले त खेलकूदको विकासको कुरा गर्छ, क्रिकेटको विकासको कुरा गर्छ । पूर्वाधारको विकासको कुरा गर्नुपर्छ, खेलाडीहरुलाई राम्रो खेल्नुपर्छ भन्छ । अनि त्यसका लागि सरकारले के गर्नुपर्छ त्यो गर्छ ।
खेलाडीहरुको घोषणा गरेदेखि नै म राजधानी बाहिर छु । त्यो घोषणा पछि मैले खेलाडी साथीहरुसँग फोनमा कुराकानी गरेको थिए । उहाँहरुका समस्या के हुन पिडा के हुन् त्यो बुझ्न कोशिस गरिरहेको छु । ति समस्या र पीडा समाधान गरेर जानुपर्छ । त्यसका लागि क्यानले पनि पहल गर्नुपर्छ ।
तर खेलाडीहरुले क्यानको नेतृत्व असफल भएकोले केही गर्न सक्दैन भनेका छन् ?
उहाँहरुले त्यो भन्नु स्वभाविक हो । तर क्यानका पदाधिकारीले काम गरेर, उनीहरुको समस्या समाधान गरेर सक्षमता देखाएभने त्यो राम्रो हुन्छ नि । अहिले म राजधानी बाहिर छु । म जाने बित्तिकै समस्या समाधानमा लाग्छु । यो समस्या समाधानका लागि सरकारले समन्वय गर्छ ।
क्यान नेतृत्वबारे तपाईको धारणा के हो ? 
क्यान नेतृत्वबारे मैले अध्ययन गरिरहेको छु । क्यानको बारेमा अलिअलि गुनासो पहिले देखिनै आउने गरेको हो । क्यानलाई मैले गुनासो समाधान गरेर जानुस भनेको थिए । यदि अगाडि बढ्न सकिदैन भने त्यहीँ अनुसार कुरा हुन्छ ।
समस्या समाधान गरिएन भने त झन् बढ्दै जान्छ नि । क्यानले खेलाडी, पदाधिकारी सदस्य सबैको समस्यालाई समाधान गर्नुपर्छ । सुन्नुपर्छ ।
तर क्यानले त उल्टै खेलाडीहरुलाई नै कारबाही गर्नुपर्छ भनेको छ नि ? 
मलाई त त्यस्तो लाग्दैन । क्यानले खेलाडीलाई कारबाही गर्छ जस्तो मलाई लाग्दैन । अस्ति भर्खर त्यति राम्रो खेलेका खेलाडीले अलिकति गुनासो गरे भन्दैमा कारबाही गर्नुपर्छ भन्ने मलाई लाग्दैन । यो अभिभावकलाई गरेको गुनासो हो ।
खेलाडीहरुले क्यानमा राजनीतिक दलको कार्यकर्ता भन्दा खेल बुझेको नेतृत्व चाहिन्छ भनेका छन् तपाईको धारणा के हो ?
म अहिले यो समस्याको उचित व्यवस्थापन तर्फ मात्रै ध्यान छ । वास्तवमा खेल संघहरुको नेतृत्व खेल क्षेत्रबाटै आउँदा राम्रो हुन्छ । बुझेको मान्छे आउँदा व्यवस्थापन गर्न सजिलो हुन्छ । राष्ट्रिय खेलकूद परिषद्मा जस्तै संघहरुमा पनि राजनीतिक नियुक्ति हुन सक्दैन । त्यस्तो भएको भए सच्चाउदै जानुपर्छ ।
बाहिरबाट मान्छे लगेर खेलकूद संघमा बहिस्कार र स्वीकारको स्थिति पैदा गर्ने काम गर्नुहुँदैन ।
क्यान नेतृत्वलाई सरकारले कारबाही गर्छ ?
कारबाही गर्ने स्थिति पैदा भयो भने सरकारलाई कसैले रोक्न सक्दैन । सकेसम्म सरकारले हस्तक्षेप नगरौ भन्ने स्थिति हो । अहिलेपनि हस्तक्षेप गर्न हुने र नहुने भन्दै मत विभाजित स्थिति छ । यस्तो अवस्थामा सरकार सकेसम्म उतैबाट समस्या समाधान होस भन्ने चाहन्छ ।
तर खेलनै खतरामा पर्ने स्थिति भयो खेलाडीनैपलायन हुने स्थिति भयो भने सरकारले रमिता हेरेर बस्दैन । क्यान कारबाहीमा पर्छ ।
भनेको अहिलेको क्यान नेतृत्व बर्खास्त हुन्छ ? 
मैले भने नि त्यो त विशेष परिस्थितिको कुरा हो ।
अहिले तपाईलाई क्यानको नेतृत्वबाट चित्त बुझेको छ कि छैन ? 
होइन म अहिले अध्ययनको क्रममा छु । त्यहि भएर अहिले नै त्यो भनिहाल्ने स्थिति छैन । म सबै पक्ष सँग छलफल गरेर खेलाडीले उठाएका जायज कुराहरु सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा छु । कारबाही गर्ने पक्षमा छैन । क्यानले यो कुरा बुझ्न जरुरी छ । होइन भने खेलाडीलाई होइन समस्या समाधान गर्न नसक्ने क्यान कारबाहीमा पर्छ ।

  •  
  •  
  •