पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपतिसहित १० जनाविरुद्ध मुद्दा

166
  •  
  •  
  •  

काठमाडौं, २२ साउन (ओएनएस) : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालय पूर्वउपकुलपति जगतबहादुर केसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले केसी र प्रा. डा. रामावतार यादवसहित १० जनाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

उपकुलपति केसी र यादव, तत्कालीन रजिष्ट्रारहरु भोगेन्द्र प्रसाद उपाध्याय र सन्जेश प्रसाद कोइराला, तत्कालीन डिनहरु खेमराज कैनी र प्रा. डा. प्रदीपराज प्रधान, तत्कालीन आर्थिक प्रमुख भुपेन्द्रप्रसाद खनाल, वरिष्ठ अधिकृत नारायणप्रसाद दाहाल तथा प्रशासकीय अधिकृत सुकेश कर्ण लागयत १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

यस्तै भारतीय कम्पनी इन्ट्रुमेन्टस एण्ड केमिकलविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले वजाएको छ । विश्वविद्यालयको मेडिकल प्रयोगशालाको उपकरण र फर्निचर आपूर्ति एवं जडानका लागि इन्ट्रुमेन्टस एण्ड केमिकल प्रालीसँग भएको करार सम्झौतामा उल्लेखित बाध्यात्मक शर्तहरू समेतलाई बेवास्ता गररी खरिद गरेको र विश्वविद्यालयलाई वदनियत पूर्वक हानि नोक्सानी पुर्‍याएको अभियोगमा उनीहरुमाथि मुद्दा चलाइएको हो ।

अख्तियारले उनीहरुसबैबाट एक करोड २१ लाख १८ हजार ८३४ रूपैयाँ ८८ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदै सम्मको सजाय माग गरेको छ । साथै उपकुलपतिदेखि विशिष्ट श्रेणी सम्मका पदाधिकारीहरुको हकमा ऐनको दफा २४ अनुसार थप सजायको पनि माग गरिएको छ ।


  •  
  •  
  •