पूर्व न्यायाधीश फोरमले भन्यो, ‘प्रधानन्यायाधीशको आचरण र व्यवहारमा गम्भीर शंका’

69
  •  
  •  
  •  


फाइल तस्बिर

काठमाडौं । पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै फोरमले भनेको छ, ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट मिडिया र अनलाइनमा समाचार सम्प्रेषण हुनु र त्यसको नेपाल बार एसोसियशनतर्फबाट समेत भएको विरोधको बाबजुद प्रधानन्यायाधीशको नाताका मानिस मन्त्रिपरिषद्‌मा समावेश गराइनु र चर्को विरोधपश्चात मन्त्रीको राजीनामा आउनुले प्रधानन्यायाधीशको आचरण र व्यवहारमा नै गम्भीर शंका उत्पन्न गराएको छ ।’
प्रधानन्यायाधीश संवैधानिक दायित्व निर्वाह गर्नमा नै गम्भीर शंका उत्पन्न भएको देखिएको फोरमले विज्ञप्तिमा उल्लेख छ ।
न्यायाधीशहरूले तक्मा लिएको विषयको पनि पूर्व न्यायाधीशहरूको समूहले आलोचना गरेको छ । यसबारे भनिएको छ, ‘कार्यपालिकाद्वारा गरिएको मूल्याङ्कनको आधारमा प्रदान गरिने तक्मा यस वर्ष प्रतिनिधिसभा विघटनको पहिलो मुद्दा फैसला गर्ने प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई नै तोकिदिएर विभिन्न तहको तक्मा दिने घोषणा गरिएबाट स्वतन्त्र र विश्वासिलो न्यायपालिकाको मर्ममा नै आघात पुर्‍याएको छ भनी चौतर्फी आलोचना हुँदा पनि सम्बन्धित न्यायाधीशहरूले न्यायपालिकाको मर्यादाको रक्षा गर्न अग्रसरता देखाएको पाइएन ।’


  •  
  •  
  •