चितवनमा तेल लुकाउने पम्पमा सिलबन्दी

149
  •  
  •  
  •  

चितवन, ९ मंसिर(ओएनएस) : वाणिज्य विभागले चितवनको भरतपुर-१० रिजाल चोकस्थित अष्टभुजा आयल डिष्ट्रिब्युटर्सले सर्वसाधारणलाई बाच्नुपर्ने पेट्रोल लुकाएको भन्दै सिलबन्दी गरेको छ ।

वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्बासेको नेतृत्वको टोलीले बुधबार बिहान पेट्रोल पम्पमा सिल गरेर पम्पका सञ्चालक खिलकान्त बर्तौलालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

निर्देशक बेल्बासेले पेट्रोल पम्पमा सर्वसाधारणलाई बाड्नुपर्ने पेट्रोल नबाँडी सकिएको भन्दै फिर्ता पठाएपछि सर्वसाधारणले गरेको उजुरीका आधारमा कारबाही पक्रिया अगाडि बढाएको बताएका छन् ।

सर्वसाधारणको उजुरीपछि जिल्ला प्रशासन कार्यालय चितवनमा रहेका वाणिज्य अधिकृत नेत्र शर्माको टोलीले मंगलबार नै पम्पको निरीक्षण गर्दा शङ्कास्पद देखिएपछि विभागबाट आएको टोलीले पम्प सिलबन्दी गरेको हो ।

विभागका निर्देशक बेल्बासेले व्यवसायीले तेल लुकाएर कुनै ढङ्गले वितरण गर्न र अनुचित लाभ लिएर कालोबजारी गर्ने उद्देश्य देखिएको बताउँदै पेट्रोल पम्प सञ्चालकलाई कालोबजारी सम्बन्धी ऐन र अन्य सामाजिक अपराध ऐनअन्तर्गत कारबाही गर्ने बताएका छन् ।

उनले पम्पको उपकरण हरेक वर्ष साउन मसान्तसम्म क्यालिब्रेसन (परीक्षण) गराउनु पर्नेमा नगराएको, मास्टर मिटर परीक्षण नगराएको, ट्याङ्कीको मिटर परीक्षणसमेत नभएको, हरेक दिन मिटर रिडिङ अद्यावधिक गरेर मौज्दात राख्नु पर्नेमा त्यसो नगरिएको बताए ।


  •  
  •  
  •