सार्वजनिक यातायातमा ठगिन्छन् यात्रु, दैनिक १ करोडभन्दा बढि ठगी

218
  •  
  •  
  •  

काठमाडौ, ५ बैशाख : मिलेमतोमा सार्वजनिक यातायात व्यवसायीले यात्रुबाट दैनिक लाखौं रुपैयाँ ठग्दै आएका छन् । व्यवसायीले सरकारले तोकेको न्यूनतम भाडा दरभन्दा बढी रकम असुलेर उपत्यकाबाट हरेक दिन ३६ लाख रुपैयाँभन्दा बढी असुलेको पाइएको छ।

यातायात क्षेत्रका बेथिति सम्बोधन गर्न यातायात व्यवस्था विभागको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन भए पनि प्रभावकारी रूपमा नियमन नहुँदा यात्रुहरूले न्यूनतम दूरीमा सरकारले तोकेभन्दा दुई रुपैयाँ बढी भाडा तिर्नुपरेको छ।

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर शून्यदेखि चार किलोमिटरसम्मको दूरीमा १३ रुपैयाँ भाडा दर तोकेको छ। गत माघ २६ गते पेट्रोलियम पदार्थको मूल्य घटेपछि १४ रुपैयाँबाट घटाएर न्यूनतम भाडा १३ रुपैयाँ कायम गरिएको हो । यसरी अवैध रूपमा असुल गरिने बढी भाडादरका कारण व्यवसायीहरूले दैनिक लाखौं रुपैयाँ आर्जन गरेका हुन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले सरकारले वैज्ञानिक भाडादर १३ रुपैयाँ ७२ पैसा निर्धारण गरे पनि यातायात व्यवसायीसँगको सहकार्यमा न्यूनतम भाडा दर १३ रुपैयाँ कायम गरिएको बताए।

‘सरकारले राजपत्रमा पनि न्यूनतम भाडादर १३ रुपैयाँ नै तोकेको छ। १३ रुपैयाँभन्दा बढी असुल गर्नु अवैधमात्रै होइन, सीधै ठगी हो। हामीले प्रभावकारी अनुगमन गर्न नसक्दा व्यवसायीले समग्रमा प्रत्येक दिन अवैध रूपमा यात्रुबाट लाखौं रुपैयाँ असुल्दै आएका छन्’, अधिकारीले भने, ‘व्यवसायीहरूले अपारदर्शी रूपमा ठूलो रकम यात्रुबाट असुल गरिरहेको गुनासो आएको छ। निकट समयमै प्रभावकारी अनुगमन थाल्दैंछौं।’

सरकारले आफैंले निर्धारण गरेको भाडादर कार्यान्वयन कसरी भएको छ भन्ने अनुगमन नगर्दा व्यवसायीले जबरजस्ती यात्रुबाट १३ रुपैयाँको साटो १५ रुपैयाँ असुल्दै आएको उपभोक्तावादी जगरनाथ मिश्र बताउँछन् । उनले भने, ‘सरकारले ठग्न छुट दिएका कारण व्यवसायीले अवैध रूपमा यात्रुबाट दैनिक लाखौं असुलेका छन्।’ भाडादर बढाउन हडतालमा उत्रिने व्यवसायीले घटेको भाडादर लागू गर्न कन्जुस्याइँ गर्दै आएका छन्। यात्रुले सरकारले तोकेबमोजिम भाडा लेऊ भन्दा उल्टै तिरस्कृत हुनुपरेको मिश्रले बताए।

महासंघका महासचिव सरोज सिटौलाले यातायात व्यवसायीले यात्रुबाट १४ रुपैयाँमात्र भाडा असुल गरिरहेको दाबी गरे । ‘सरकारले वैज्ञानिक न्यूनतम भाडादर १३ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ’, उनले भने, ‘५० पैसाभन्दा बढी भयो भने हामीले त्यसलाई एक रुपैयाँ बनाएर अर्थात् १३ रुपैयाँ ७२ पैसाको स्थानमा १४ रुपैयाँ लिन निर्देशन दिएका छौं । कसैले १४ रुपैयाँभन्दा बढी भाडा लिएको भए तत्काल मलाई जानकारी दिनुस्।’ खुद्रा नहुँदा केही यात्रुले बढी पैसा तिर्नुपरेको हुनसक्ने उनले बताए।

न्यूनतम दूरीमा सरकारले तोकेको भाडाभन्दा बढी असुल गरिने दुई रुपैयाँका दरले ३५ लाख ८० हजार रूपैयाँ प्रतिट्रिप व्यवसायीले यात्रुबाट असुल्छन् । तीन ट्रिपको मात्रै हिसाब गर्ने हो भने पनि व्यवसायीहरूले एक करोड सात लाख ४० हजार रुपैयाँ ठगेर अतिरिक्त आम्दानी गर्छन् ।
– अन्नपूर्ण पोष्टबाट


  •  
  •  
  •