विराटनगरमा चल्न थाले सार्वजनिक यातायात

134
  •  
  •  
  •  

विराटनगर, १८ कात्तिक(ओएनएस) : विराटनगरबाट छोटो दूरीका सार्वजनिक यातायात आजदेखी सञ्चालनमा आएका छन् ।

यातायात मजदुर र व्यवसायीको मंगलबार बसेको छलफलले आन्दोलनकारीहरुलाई आन्दोलनको स्वरूप परिवर्तन गरेर यातायात निर्वाध रूपले चल्नु दिन आग्रह गरेको थियो । साथै छलफलको निर्णय अनुसार नै आजदेखी छोटो दूरीका सवारी साधन सञ्चालनमा ल्याएका छन् ।

विराटनगरबाट धरान, इटहरी, काँकडभिट्टा लगायतका स्थानमा छोटो दूरीका यातायात सञ्चालनमा आएका छन् । यातायात सुचारू हुन थालेपछि धरान, इटहरी, दुहबीतर्फ जाने यात्रुहरूको भीड नै लागेको छ । यस्तै अन्य स्थानबाट पनि विराटनगरमा यातायातका साधन आउन थालेका छन् ।

यसअघि मोर्चाका कार्यकर्ताले दुहबीमा गाडी रोक्ने भएका कारण पुष्पलाल चोक, नेटा चोक, विराट चोक हुँदै घुमाएर इटहरी लैजाने गरिन्थ्यो भने आजबाट सोझो रूटमा गाडी चल्न थालेका छन् ।

विराटनगरबाट चल्ने लामो दूरीका सवारी साधनहरू प्रहरी स्कर्टीङबाट चल्दै आए पनि छोटा दूरीका सवारीहरू संयुक्त मधेसी मोर्चाको बन्दका कारण सञ्चालन हुन सकेका थिएनन् । बन्द अति नै लामो भएपछि व्यवसायी र मजदुरले छोटो दूरीका सवारी सञ्चालन गर्ने निर्णय गरेका थिए । सार्वजनिक यातायात सञ्चालन भएसँगै निजी सवारी साधन र ढूवानीका सवारी साधनहरू पनि सञ्चालनमका आएका छन् ।


  •  
  •  
  •