काठमाडौं १२,कात्तिक (ओएनएस) :आगामी शनिवारदेखि सार्वजनिक यातायातको भाडादर बढ्ने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालय र व्यवसायीबीच दसैंअगाडि नै आगामी कात्तिक १५ देखि लागू हुने गरी भाडा बढाउन सहमति भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । सोही सहमतिअनुसार सार्वजनिक सवारीसाधनको भाडा ५ देखि साढे ६ प्रतिशतसम्म बढाउन अनुमति दिइएको बताइएको छ ।
कात्तिक १५ गतेदेखि लामो दूरीका यात्रुवाहक सवारीसाधनको भाडादर ५ दशमलव ६३ प्रतिशतसम्म बढ्नेछ । जसमा काठमाडौंबाट पोखरा र नारायणगढसम्म चल्ने मालवाहक सवारीको भाडादर ५ दशमलव २७ प्रतिशत बढ्नेछ ।
तराईमा भने मालवाहक सवारीको भाडा ५ दशमलव २१ प्रतिशत बढ्ने बताइएको छ ।
ट्याक्सी भाडादर
काठमाडौं उपत्यकामा चल्ने ट्याक्सीको भाडा ६ दशमलव ५८ प्रतिशत बढ्नेछ । तर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र काठमाडौं उपत्यकाबाहिर चल्ने ट्याक्सीका भाडा दर बढाइएको छैन । यी दुवै ठाउँमा चल्ने ट्याक्सीले मिटरअनुसार भाडा लिन नमान्ने गरेको गुनासो आउने गरेकाले आवश्यक अध्ययन गरेर चाँडै निर्णय गरिने महानिर्देशक दाहालले जानकारी दिए ।
नयाँ भाडादरअनुसार काठमाडौं उपत्यका र अन्य शहरी क्षेत्रमा चल्ने सवारीसाधनमा ४ किलोमिटरसम्म यात्रा गर्दा १६ रुपैयाँ तिर्नुपर्ने भएको छ । यसअघि उक्त भाडादर १५ रुपैयाँ थियो ।
काठमाडौं उपत्यकामा शनिवारदेखि लागु हुने भाडादर
-५ किलोमिटरको रु. १७
-६ किलोमिटरको रु.१९
-८ किलोमिटरको रु.२०,
-१० किलोमिटरको रु.२२,
-१३ किलोमिटरको रु.२४
-१६ किलोमिटरको रु.२६
– १९ किलोमिटरको रु.२७
नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाको चक्रपथको पूरै यात्रा गर्दा २९ रुपैयाँ लाग्ने भएको छ ।
सार्वजनिक गाडीमा यात्रा गर्दा पाइने छूटको प्रतिशत भने यथावत् नै राखिएको छ ।
लामो दूरीको भाडाको पूर्णसूची भने आगामी १५ गते भित्रै यातायात व्यवस्थाअन्तर्गतका विभिन्न कार्यालय, हरेक जिल्ला प्रशासन कार्यालय, ट्राफिक प्रहरी र अन्य सम्बन्धित निकायमा बूकलेट बनाएर पठाउने सहमति भएके छ ।
यता अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपालमा पनि सोहीअनुसार इन्धनको मूल्य समायोजन गरिएको छ ।
हरेक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने भएपनि पेट्रोलियमको मूल्यका आधारमा १५÷१५ दिनमा भाडा परिवर्तन गर्न नसकिने हुँदा पुरानै सहमतिअनुसार भाडा वृद्धि गरिएको भौतिक योजना तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।