सार्वजनिक बसका छत निकालिँदै

123
  •  
  •  
  •  

काठमाडौं २६ कात्तिक ।
सरकारले देशका विभिन्न स्थानमा सार्वजनिक सवारीका ‘छत क्यारियर’ धमाधम निकाल्न थालेको छ। छतभरि यात्रु राखेर चलाउँदा दुर्घटना बढेको भन्दै सरकारले क्यारियर हटाउने अभियान सुरु गरेको हो। यातायात व्यवस्था विभागका महानिर्देशक काशीराज दाहालले सवारी तथा यातायात नियमावलीमा व्यवस्थाअनुसार गाडीका क्यारियर निकाल्न सुरु गरेको बताए। ‘विगतका दुर्घटना हेर्दा क्षमताभन्दा बढी यात्रु छतभरि राखेर चलाउनु पनि एउटा कारण देखिएको छ,’ उनले मंगलबार नागरिकसँग भने, ‘दुर्घटना न्युनीकरण अभियानअन्तर्गत छतको क्यारियर निकाल्ने कामलाई तीव्रता दिएका छौं।’

सवारी तथा यातायात नियमावली ०५४ अनुसार लामो दुरीमा चल्ने बसमा तोकिएको आकारको बाहेक अन्य यात्रुबाहक सवारीमा क्यारियर राख्न पाइँदैन। लामो दुरीका बसमा छतको क्यारियर बसको कुल लम्बाईको आधा र ८ इन्च उचाइको हुनुपर्ने व्यवस्था छ। यसबाहेक द्रुत बस (एक्सप्रेस), साधारण (लोकल), मिनीबस, माइक्रोबस, बोलेरो, जिपलगायत यात्रुबाहक सवारीमा क्यारियर राख्न ऐनले रोक लगाएको छ। तर, नेपालका सडकमा गुड्ने सबैजसो यात्रुबाहक सवारीमा क्यारियर छन्।
सामान राख्ने भन्दै जथाभाबी राखिएका क्यारियरमा खाँदाखाँद यात्रु चढाउने गरेको पाइएपछि जिल्ला यातायात व्यवस्थापन समितिले कारबाही अघि बढाएको विभागले जनाएको छ। ‘समितिले छत निकाल्ने कामलाई तीव्रता दिन सडकमा सवारी चेकिङ तीव्र पारेको छ,’ महानिर्देशक दाहालले भने।
विभागमा आएको जानकारीअनुसार जिल्ला समितिहरूले हालसम्म लुम्बिनी र धौलागिरि अञ्चलका अधिकांश जिल्लाका सवारी, खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभालगायत जिल्लाका सवारीबाट छत निकाल्न थालिसकेका छन्।
यातायात व्यवसायीले भने यो कदमको विरोध गरेका छन्। छतमा यात्रु नराख्न सहमत हुँदाहुँदै सरकारले सामान राख्ने क्यारियर हटाएर यात्रुमाथि अन्याय गरेको व्यवसायीको भनाइ छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले दुर्घटना न्युनीकरणका नाममा सरकारले यात्रुको अधिकार खोस्ने काम गरेको बताए। ‘छतमा यात्रु राख्न पाइँदैन भन्नेमा हामी सहमत छौं, यो नियम मान्न तयार छौं,’ उनले भने, ‘कसैले छतमा यात्रु राखेको पाइए त्यस्ता चालकलाई हामी पनि कारबाही गर्छौं, तर छतै निकाल्न पाइँदैन।’ छत क्यारियर निकाल्ने हो भने सरकारले यसको वैकल्पिक व्यवस्था दिनुपर्ने उनले बताए।
महानिर्देशक दाहाल भने व्यवसायीको विरोधको कुनै अर्थ नभएको बताउँछन्।
‘पहिलो कुरा त यात्रुबाहक बसमा छत क्यारियर नै राख्न पाइँदैन। व्यवसायीले आफूखुसी सवारीमा क्यारियर राख्ने र यात्रुलाई जोखिममा पार्ने काम गरिरहेको पाइयो,’ दाहालले भने, ‘यात्रु राख्दैनौं, सामान मात्र राख्छौं भनेर पनि छुट दिइन्न। अब कुनै पनि बहानामा छत क्यारियर राख्न पाइन्न।’ यात्रुबाहक बसमा सामान राख्ने हो भने मालबाहक वा सामान बोक्ने सवारीको आवश्यकतै नपर्ने उनले बताए।
सरकारले यात्रुबाहक बसलाई क्षमता र स्तरका आधारमा विभिन्न भागमा वर्गीकरण गरेको छ। यसअन्तर्गत लामो दुरीका ‘डाइरेक्ट’ बसलाई चालकसहित बढीमा ४० सिट भएको, द्रुत (एक्सप्रेस) बसमा चालकसहित बढीमा ५०, सामान्य बसमा चालकसहित २६ देखि ५६ जना, मिनीबसमा चालकसहित १५ देखि २५ जना, जिप, भ्यान, पिकअप र माइक्रोबसमा चालकसहित बढीमा १४ जनासम्म यात्रु राख्ने भनी परिभाषित गरेको छ। यी सबै सवारीमध्ये डाइरेक्ट बसबाहेक अरूमा छत क्यारियर राख्न पाइँदैन।
नागरिकबाट


  •  
  •  
  •