१० हजार मेगावाट विद्युत उत्पादनको आधारशीला तयार पर्छु : मन्त्री ज्ञवाली

71
  •  
  •  
  •  

काठमाडौं २९ भदौ(ओएनएस)ः उर्जामन्त्री राधा ज्ञवालीले ६ बर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने आधार तयार पार्ने दाबी गरेकी छन् ।

आईतबार काठमाण्डौंमा भएको अन्तरक्रिया कार्यक्रममा ज्ञवालीले आफ्नै कार्यकालमा सन् २०२० सम्म १० हजार मेगावाट विद्युत उत्पादन गर्ने आधार तयार गर्ने दाबी गरेकी हुन् । उनले उर्जा व्यापार सम्झौतामा हस्तक्षेप र अपरोध नगर्न आग्रह समेत गरिन् । मन्त्री ज्ञवालीले  भनिन्, ‘उर्जा व्यापार सम्झौताले देशको हित हुने भएकोले त्यसमा म अडिग छुँ, यसमा कसैको हस्तक्षपले मलाई फरक पार्दैन ।’
ज्ञवालीले उर्जा व्यापार सम्झौता (पीटीए)को प्रारम्भिक सम्झौतापछि विदेशी लगानीकर्ताको आकर्षण बढेको दाबी गरिन् । पीटीए भएलगतै चीन, मलेसिया,नर्वेलगायत देशका राजदुत र निजीक्षेत्रका लगानीकर्तासमेतले लगानीमा इच्छा देखाएको उनले बताइन् । ‘दिनमा २ जना व्यक्ति विद्युतमा लगानी गर्ने इच्छासहित मन्त्रालयमा आएका छन्! उनले भनिन् । ज्ञवालीले बंगलादेशले पनि चासो देखाएको जानकारी दिईन् ।

कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान)का अध्यक्ष खड्गबहादुर विष्टले पीटीए एकदमै राम्रो कदम भएको बताए । उनले पीटीएका चुनौती र फाइदाका बारेमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

राष्ट्रिय योजना आयोगका अध्यक्ष गोविन्दराज पोखरेलले पीटीएबाट भारत मात्र नभई बङ्गलादेशमा समेत विद्युत व्यापार गर्न सकिने बताए । विजुली बेच्न सके देशको आर्थिक स्तर उकास्न सहज हुने उनले बताए । त्यस्तै लगानीकर्ताको हितमा नीति तथा नियम बनाउनु जरुरी भएको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले प्राधिकरणले आधिकारिक रुपमा विद्युत खरिद सम्झौता(पीपीए) नरोकेको बताए । डलरमा पीपीएका लागि उच्चस्तरिय कमिटीको रिपोर्ट नआएकोले पीपीए रोकिएको उनले जानकारी दिए ।
उद्योगपति विनोद चौधरीले विद्युत सम्झौतामा नेपाल ठगिदै आएकोले अहिलेपनि जनताले विश्वास गरिनसेको बताए ।

व्यवस्थापिका संसद अन्तर्गतको कृषि तथा जलस्रोत समिति सभापति तथा नेपाली काङ्ग्रेसका नेता गगन थापाले पीटीए संसदमा अनुमोदन गरिनुपर्ने बताए । ‘साथै उनले संसदभित्रको समझदारीलाई राष्ट्रिय स्तरको नमानेकोमा चिन्ता व्यक्त गरे ।


  •  
  •  
  •