जिल्ला टुक्राए आन्दोलनको चेतावनी

186
  •  
  •  
  •  

विराटनगर, २ मंसिर(ओएनएस) : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश आन्दोलनलाई साम्य पार्न मोरङ सुनसरीका केही भु-भाग दुई नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव गरेको चर्चापछि विराटनगर तातेको छ । मधेश आन्दोलनलाई मनाउन जिल्ला टुक्राउन खोजेको भन्दै विराटनगरका नागरिक समाज तातेका हुन् ।

करिब चार महिनायता जारी मधेश आन्दोलनको माग सम्बोधन गर्न अघि सरेका प्रचण्डले मधेस बाहुल्य क्षेत्रलाई २ नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव गरेको हल्ला चलेपछि विराटनगरका नागरिक समाज, राजनीतिक दल र अधिकारवादी संघ संस्थाहरुले विरोध जनाएका हुन् । उनीहरुले आन्दोलन सुरू गरेका छन् ।

बृहत नागरिक समाजले जिल्ला टुक्राउन नपाइने भन्दै विरोध जनाएको हो । बुधवार विराटनगरको महेन्द्र चोकबाट निस्किएको जुलुसले मेनरोड हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । बृहत नागरिक समाज नाम दिइएको जुलुसमा नागरिक समाज, संघ सस्था र राजनीतिक दलहरू सहभागी थिए । उनीहरूले जिल्ला टुक्राउन नदिने नारा लगाएका थिए । नागरिक समाजले मोरङ, सुनसरी र झापालाई अखण्ड बनाउने बताएका छन् ।

झापा, मोरङ र सुनसरी जिल्लालाई अलग गर्ने र यी जिल्लाका केही भागलाई काटेर प्रदेश नम्बर २ मा मिलाउने हल्ला चलेपछि राजनीतिक दहलरुले पनि जिल्ला टुक्राउन नदिन भन्दै आन्दोलन सुरु गरेका हुन् ।

प्रस्तावित १ नम्बर प्रदेशमा रहेको झापा, मोरङ र सुनसरीका केही भुभागको मधेश बाहुल्य क्षेत्रलाई प्रदेश नं २ मा गाभ्ने हल्ला चलेपछि विराटनगरका नागरिक समाज, अधिकारवादी संघसंगठन राजनीतिक दललगायतले जिल्ला टुक्राए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


  •  
  •  
  •