श्रीमतीलाई जबर्जस्ती देहव्यापारमा लगाउनेलाई ११ वर्ष कैद

319
  •  
  •  
  •  

भक्तपुर, ९ साउन (ओएनएस) : श्रीमतीलाई जबर्जस्ती देहव्यापारमा लगाउने श्रीमान्लाई भक्तपुर जिल्ला अदालतले ११ वर्षको कैद सजाय सुनाएको छ । सिन्धुपाल्चोक साम्पालकोट–३ घर भई काठमाडाँ लैनचौर बस्ने ३५ वर्षीय दीपक पण्डितलाई जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले ११ वर्ष कैद ५५ हजार रुपैयाँ जरिवाना र त्यसमा थप ५० प्रतिशत क्षतिपूर्तिसहितको फैसला सुनाएको हो ।

२०५५ मा मागी विवाह गरेर एक छोरा र एक छोरीको आमा २७ वर्षीया ती महिलालाई विभिन्न स्थानमा लगेर शारीरिक तथा मानसिक यातना दिँदै जबर्जस्ती यौन धन्धामा लगाएको पुष्टि भएको थियो । गाउँमा दुःख पाइयो भन्दै श्रीमान्ले २०६२ सालमा ४ वर्षको छोरासँगै भक्तपुरको बालकोट ल्याएका शर्मिलालाई कोठामा आएपछि जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएका थिए ।

पीडित शर्मिलाका अनुसार आफू कोठाबाहिर बसेर मद्येसी मूलका व्यक्तिहरूसँग पैसा लिएर कोठाभित्र पठाएर जबर्जस्ती यौन धन्धा गराउने गर्दथे । मदिरा र जुवातासको लत लागेका श्रीमान्लाई आफू ज्यामी काम गरेरै भए पनि परिवार पाल्छुभन्दा नमानी पटकपटक बच्चा भएकै बेलामा समेत कोठामा ग्राहक खोजेर पठाउने गरेका थिए । महिलाका अनुसार आफ्नो इच्छाविपरीत अरूसँग यौन सम्बन्ध राख्न नमानेपछि कुट्ने, चुरोट र मैनबत्तीले शरीरका विभिन्न अङ्गमा पटक—पटक पोलिदिने, हँसियाले खुट्टामा काटिदिनेजस्ता यातना दिएर यौन सम्बन्ध राख्न बाध्य पार्ने गरेका थिए ।

श्रीमान् नभएको बेलामा कोठा सरेर सामाखुसी पुगेकी शर्मिलाको सो स्थानसमेत पत्ता लगाएपछि दीपकले श्रीमतीलाई ठमेलस्थित बेसी क्याम्प गेस्ट हाउसमा लगेर १० हजारमा ६ महिनासम्म वेश्यावृत्ति गर्न लगाएका थिए । छ महिनापछि आफँैले श्रीमतीको नाममा ठिमीस्थित कृषि विकास बैंकबाट ऋण लिएर ठमेलमै ओम युनिक बडी केयर मसाज सेन्टर खोलेर जबर्जस्ती वेश्यावृत्ति गर्न लगाई दैनिक दुई हजार ७०० भन्दा बढी कमाउन बाध्य पारेको अनुसन्धानबाट खुलेको थियो ।

पाँच सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म लिएर वेश्यावृत्तिमा लगाई शारीरिक र मानसिक यातना दिने क्रम नरोकिएपछि ति महलिाले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि महानगरीय प्रहरी परिसर भक्तपुरले दीपकलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । अदालतमा पीडक दीपकले रक्सी खाने तथा जुवातास खेल्ने बानीले श्रीमतीलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाएको, शारीरिक तथा मानसिक यातना दिएको स्वीकारेका थिए ।


  •  
  •  
  •