ठूला कम्पनीको नाफा बढ्यो

333
  •  
  •  
  •  

काठमाडौं, २३ साउन  : बैंक तथा वित्तीय संस्थाको साथै नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वािर्षक वित्तीय विवरण प्रकाशन सुरु गरेका छन् । जसमा केही संस्थाले लाभांशको घोषणासमेत गरिसकेका छन् । हालसम्म पुँजीको आधारमा करिब दुई दर्जन ठूला तथा साना कम्पनीहरूले वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । जसमा अधिकांशको नाफा बढेको देखाइएको समाचार हिमालय टाइम्समा छापिएको छ ।

वित्तीय विवरण प्रकाशित गर्नेहरूमा युनिलिभर नेपालले लाभांशको घोषणासमेत गरिसकेको छ । अंग्रेजी वर्षअनुसार आफ्नो कारोबारको हिसाब राख्ने गरेका कारण यो कम्पनीको वित्तीय विवरण अरूको भन्दा छिटो आउने गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले प्रतिसेयर आठ सय ६० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको यो । सम्भवत सूचीकृत कम्पनीहरूमै सबैभन्दा धेरै लाभांश हुने सम्भावना छ । कम्पनीको साधारणसभाले पारित गरे यो नगद लाभांश प्रस्ताव पारित कार्यान्वयनमा आउने छ ।

युनिलिभर वार्षिक रूपमा बढी लाभांश दिने कम्पनीको रूपमा रहँदै आएको छ । जसको प्रभावसमेत सेयर बजारमा निकै राम्रो रहने गरेको छ । हाल युनिलिभरको नेपाल स्टक एक्सचेन्जमा १४ हजार ५ सय ९६ रुपैयाँ प्रतिकित्ता रहेको छ । कम्पनीको चार दिनअगाडि सेयर कारोबार भएको थियो जसमा एकै दिन दुई सय रुपैयाँको सुधार आएको थियो । कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छ । जसको बजार मूल्य १३ अर्ब ४३ करोड बढी रहेको छ । कम्पनीले ४ वर्ष अगाडि प्रतिकित्ता चार सय ५० रुपैयाँका दरले लाभांश दिएको थियो । कम्पनीको सेयर खरिद बिक्री कमै हुने गरेको विश्लेषकहरूले बताएका छन् ।

गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्ने अर्को ठूलो कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । जसको खुद नाफा १० प्रतिशतले बढेको देखाइएको छ । कम्पनीले शुक्रबार मात्रै आफ्नो वित्तीय विवरण प्रकाशित गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले गत वर्ष ५ करोड ९५ लाख नाफा कमाएको छ । सो अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ६ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ भने भने अन्य स्रोतबाट १ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ ।

उता गत आर्थिक वर्षको करिब ६ वटा वाणिज्य बैंकले वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमा सबै वाणिज्य बैंकको नाफामा सुधार आएको देखाइएको छ । नेपाल बंगलादेश बैंक (एनबी बैंक) को नाफा भने स्थिर रहेको देखाइएको छ । शुक्रबार प्रकाशित वित्तीय विवरणअनुसार बैंकले ७८ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०६९/७० मा पनि बैंकले ७७ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । उता वित्तीय विवरण सार्वजनिक गरेको सिद्धार्थ बैंकले गत वर्ष ७९ करोड १५ लााख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ४८ करोड २६ लाख नाफा कमाएको थियो । ब्याज आम्दानी र सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएको रकम फिर्ता (राइट ब्याक) ले बैंकको नाफा बढेको देखिएको हो । असारसम्ममा बैंकले ३५ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगनी गरेको विवरणमा देखाइएको छ ।

उता वित्तीय विवरण प्रकाशित गरेको एनएमबी बैंकको ४३ करोड ४७ लाख रुपैयाँ नाफा भएको छ । अघिल्लो वर्ष बैंकले ३६ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको पनि सम्भावित जोखिमबापत छुट्याएको रकम फिर्ताको कराण नाफा बढेको देखाइएको छ । बैंकले २० करोड ५१ लाख रुपैयाँ फिर्ता गरेको छ । त्यसैगरी पछिल्लो वाणिज्य बैंक जनता बैंकको नाफा भने घटेको छ । बैंकले ८ करोड ८१ लाख नाफा कमाएको छ । छ । बैंकले अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशत कम नाफा गरेको हो । अघिल्लो वर्ष बैंकले १९ करोड ७३ लााख रुपैयाँ नाफा कमाएको थियो । बैंकले खुद ब्याज आम्दानी साढे पाँच करोड रुपैयाँले बढाएको छ । २०७० असार मसान्तमा ४८ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले २०७१ असार मसान्तमा ५३ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो । बैंकले जोखिम कोषमा रकम बढाएको छ । जसको असर नाफामा परेको हो । यस्तो रकम फिर्ता भने गत वर्ष ३२ लाख मात्र गरेको छ ।

उता सबैभन्दा ठूलो मर्जरपछि बनेकोे ग्लोबल आइएमई बैंकले वित्तीय विवरण प्रकाशित गर्ने बैंकहरूमै सबैभन्दा धेरै एक अर्ब रुपैयाँ नाफा नघाएको छ । योबाहेक सिटिजन्स बैंक इन्टरनेसनल र सानिमा बैंकले पनि वित्तीय विवरण प्रकाशित गरेका छन् । जसमा सिटिजन्सले ५६ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने सानिमा बैंकले ४५ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । ग्लोबल आइएमईले भने आफ्नो नाफा एक अर्ब ७४ लाख रुपैयाँ पु¥याएको छ ।

विकास बैंकहरूमा भने कैलाश विकास बैंकले आफ्नो वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक वर्ष २०७०÷०७१ मा २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । यो बैंकको अघिल्लो वर्षको तुलनामा ७४ प्रतिशतले बढी हो । उता साना किसान विकास बैंकले पनि आफ्नो वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आर्थिक वर्ष २०७०÷०७१ मा ११ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ । बैंकले आव २०६९÷०७० मा ८ करोड ६४ लाख मात्रै नाफा कमाएको थियो ।


  •  
  •  
  •