कुन व्यापारीको बहकाउमा बोलेछन् ओली ?

284
  •  
  •  
  •  

wind-power-kp-oliकाठमाडौँ, ८ माघ(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले केही महत्वाकांक्षी र अपत्यारिला परियोजना अघि सारेका छन्, जसका कारण व्यापक आलोचना र बहस भइरहेको छ । राष्ट्रका ज्वलन्त समस्याहरूमाथि कठोर व्यंग्यको शैलीमा ओलीले एक वर्षमा लोडसेडिङ मुक्त गर्ने, भान्छाभान्छामा ग्यासका धारा जडान गरिदिने र हावाबाट बिजुली निकाल्ने घोषणा गरेका छन् । नाराको शैलीमा आएको उनका यी अभिव्यक्तिका पछाडि कुनै वैज्ञानिक र भरपर्दो अध्ययन वा योजना छ त ? वा कुनै व्यापारीको बहकाउमा लागेर उनी यो कुरा बोलिरहेका त छैनन् ?

हावाबाट बिजुली निकाल्नेबारे परियोजना हेर्दा यससम्बन्धी कुनै अध्ययन गरिएको पाइएन । केवल द गुर्खाज युके लिमिटेडका नामबाट लगानी बोर्डमा ठाडो निवेदन परेको छ । यससम्बन्धी निर्णय गर्न आगामी आइतबार ५ बजे लगानी बोर्डको बैठक बस्ने कार्यक्रम रहेको बोर्डका उपसचिव खगेन्द्रप्रसाल रिजालले बताए ।

हावाबाट बिजुली निकाल्न इच्छुक रहेको, तीन वर्षमा तीन हजार मेगावाट बिजुली निकाल्न सकिने र आगामी तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी पेस गर्ने उक्त कम्पनीको आवेदनपत्रमा उल्लेख छ । उक्त आवेदनमा कुन ठाउँमा बिजुली निकाल्ने, कहाँ कति हावा बग्छ र त्यसबाट कति बिजुली निकाल्न सकिन्छ, त्यसको लागत कति पर्छ भन्नेबारे सरकार नै अनभिज्ञ रहेको पाइएको छ । ‘एउटा ठाडो प्रकृतिको आवेदन आएको छ । यसमा परियोजनासम्बन्धी विस्तृत केही उल्लेख छैन,’ उपसचिव रिजाल भन्छन्, ‘अहिलेसम्म बोर्डको कार्यक्षेत्रमा हावाबाट बिजुली निकाल्ने कुरा थिएन । भर्खरै मन्त्रिपरिषदबाट निर्णय भएर यससम्बन्धी परियोजना पनि बोर्डले हेर्ने गरी निर्णय भएको छ । अबको बैठकमा आवेदनको बेहोरा जस्ताको तस्तै राख्छौँ र बोर्डले जे निर्णय गर्छ, त्यहीअनुरूप प्रक्रियालाई अगाडि बढाउँछौ ।’

छैन अध्ययन
विज्ञहरूका अनुसार, स्थलगत रूपमा तथ्यांक संकलन गर्न र सम्भाव्यता अध्ययन गर्न मात्र दुई वर्ष लाग्छ । अहिलेसम्म नेपालको कुनै पनि भूभागमा हावाको गतिसम्बन्धी स्थलगत रूपमा तथ्यांक संकलन गरिएको छैन । स्याटलाइट माध्यमबाट सामान्य अनुमान त गर्न सकिन्छ तर परियोजना नै सुरु गर्नका लागि स्थलगत तथ्यांक अनिवार्य हुन्छ । साथै, अन्य पूर्वाधार पनि पुगेको हुनुपर्छ ।

संयुक्त राष्ट्रसंघीय वातावरण सम्बन्धी नियोगले धेरै अघि गरेको स्याटलाइट सर्वेक्षणका आधारमा तीन हजार मेगावाट बिजुली हावाबाट निकाल्न सकिने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, द गुर्खाज युकेले तीन वर्षमा तीन हजार मेगावाट बिजुली कहाँ उत्पादन गर्ने हो भन्ने स्पष्ट भइसकेको छैन । ‘जुन विषयको अध्ययन नै भएको छैन, प्रधानमन्त्रीकै तहमा यति वर्षमा यति बिजुली हावाबाट निकाल्छु भन्नु आफैमा हावादारी कुरा हो,’ ओएनएसको सम्पर्कमा आएका एक विज्ञको भनाइ छ ।

को हुन् ती व्यापारी
द गुर्खाज युके लिमिटेड नामक कम्पनीका खासै नाम चलेको होइन । नेपालमा ठूला परियोजना सञ्चालन गर्ने हैसियतको कम्पनी यो नरहेको स्रोतको भनाइ छ । नेपालको लगानी बोर्ड र मन्त्रिपरिषदले प्रक्रिया अघि बढाएपछि भुजेलले अन्य ठूला कम्पनीको एजेन्ट बनेर काम गर्न सकिने गरी तयारी गरिरहेको जानकार स्रोतको भनाइ छ ।

यसका निर्देशक बसन्त भुलेज केही समययता प्रधानमन्त्री केपी शर्मा ओलीका निकटतम नेता तथा सचिवालयका सदस्यहरूसँग सम्पर्कमा छन् । भुजेलले नै केही नेताहरूलाई देशविदेश घुमाएका पनि छन् । जापान लगायत केही मुलुकका हावाबाट बिजुली निकालेका प्लान्टहरू घुमाएर नेपालमा पनि यसरी नै बिजुली निकाल्न सकिने भन्दै ओलीका किचन क्याबिनेटका व्यक्तिहरूलाई सहमत गराएका छन् ।

उनकै प्रभावमा परेर ओलीले मन्त्रिपरिषदबाट बाटो खोलिदिएका छन् । र, लगानी बोर्डमा प्रस्तुत परियोजना प्रस्तावलाई अगाडि बढाउन तम्सेका छन् । यही कम्पनीको भनाइमा लागेर ओलीले हावाबाट बिजुली निकाल्न सकिने अभिव्यक्ति दिएका हुन् । तर, यसका प्राविधिक कठिनाइ र तयारीका विषयमा कुनै अध्ययन नभएको र प्रक्रियागत रूपमा आउने उल्झनहरूको पनि आकलन नभएकाले ओलीको बोली बोलीमै सीमित हुने सम्भावना बढी छ ।


  •  
  •  
  •