नेपाल प्रहरीमा दुईसातामात्र अतिरिक्त महानिरीक्षक (एआइजी) बनेर महानिरीक्षक (आईजीपी) बन्ने पहिलो सौभाग्य उपेन्द्रकान्त अर्यालले पाए । यतिमात्र होइन उनी आइजीपी भएर ३ वर्ष अर्थात पूरै समय संगठन प्रमुख बन्ने छन् । त्यस्तो अवसर प्रायलाई प्राप्त हुँदैन । आइजीपीको कार्यअवघि ३ वर्ष हुन्छ । आफूसँगै सेवा प्रवेश गरेका र आइजीपीका प्रत्यासी १३ जनालाई पाखा लगाउँदै आइजीपी बन्न सफल अर्यालमाथि ठूला चुनौति देखिन थालेका छन् ।
संविधानसभा निर्वाचन गराउन गठित सरकारका गृहमन्त्री माधवप्रसाद घिमिरेको शव्द सापट लिएर भन्ने हो भने अर्याल ‘इमान्दार र काविल प्रहरी अधिकारी’ हुन् । तर, उनी आइजीपी बनेको सात महिना बितिसक्दा ‘इमान्दार’ देखिए पनि ‘काविल’ देखिन सकेका छैनन् । अर्यालले आफ्नै विवेकमा गरेको पहिलो कामबाटै उनी बद्नाम भए । काठमाडौं प्रहरी परिसर प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेललाई पठाए । खरेलले काठमाडौंका डन र गुण्डा भनेर चिनिनेलाई धमाधम पक्रेर हिरासतमा राखे । गुण्डा पक्रन उजुर पनि चाहिएन । अनि पक्रँदै छोड्दै गरेपछि डनहरुमाथि लागेको दाग पनि मेटियो । यस्तो भयोकि गुण्डाहरु त इमान्दार रहेछन्, विनाकाममा प्रहरीले समाएको रहेछ भन्ने सन्देश गयो । पक्रने र छोड्नेक्रमले प्रहरीको साख बढाएन भलै काठमाडौंमा धाकधम्की भने केही कम भयो ।
पहिले पनि खरेल परिसर प्रमुख भएर बसेकै हुन् । २०६६ मा उनी काठमाडौं प्रहरी प्रमुख भएर बसिसकेका व्यक्तिलाई पुनः दोहो¥याएर पठाउनु नहुने सुझाव आइजीपीका निकटहरुले दिएकै थिए । तर, उनले आफूलाई सघाउने र नजिकका भनेर चिनिएकाहरुको सुझावमा दम देखेनन् र पठाए खरेललाई । अहिले खरेल आइजीपी अर्याललाई घाँडो भएका छन् । प्रहरीका पूर्व एआइजी रमेश श्रेष्ठलाई परिसरमा गरेको दुव्र्यवहारदेखि एआइजी बढुवामा ब्रिफकेसको भाषण ठोकेर खरेलले समग्रमा आइजीपी अर्यालकै बद्नाम गरे । जसलाई व्यवस्थित गर्न प्रहरी संगठनलाई ‘फलामको च्युरा चपाउनुसरह’ नै भयो ।
गृहमन्त्रालयले खरेललाई तत्काल काठमाडौं प्रहरी प्रमुखबाट हटाउन निर्देशन दियो भने निर्वाचन आयोगले उपनिर्वाचनको बहानामा सरुवा गर्न सहमति दिएन । प्रहरी संगठनले बीचको बाटो अपनाउँदै डिआइजी विज्ञानराज शर्माको संयोजकत्वमा बनेको छानविन समितिमा बयानका लागि बोलाउने काम भयो । त्यसमा पनि निर्वाचन आयोगले ध्यानाकर्षण गर्दै काठमाडौं प्रहरी प्रमुखबाट खरेललाई नहटाउन अर्काे निर्देशन दियो । आइजीपीसँग बिकल्प भएन अनि चोरबाटो खोज्दै खरेललाई १ महिना विदामा बस्न निर्देशन नै दिनु प¥यो । आफूले ल्याएको व्यक्तिलाई उसले गरेका कामका आधारमा व्यवस्थापन गर्न आइजीपीलाई हम्मेहम्मे प¥यो । यो उनको गम्भीर भूल थियो । आफूनिकटले दिएको सुझावको मनन गरेका भए उनलाई यस्तो विपत्ति आउने थिएन ।
पछिल्लो समय प्रहरीमा बढुवा प्रकरणले चारैतिर तताएको छ । प्रहरी बढुवा समिति, लोकसेवा आयोगको पुनरावलोकन समिति र पुनरावेदन अदालत पाटनसम्मका गतिविधिले आइजीपी अर्याललाई हैरानै बनाएको छ । आफूसँगै सेवा प्रवेश गरेका ६ जना डिआइजी उनीसँग यति रुष्ट छन्कि त्यसको बयान गरेर साध्ये नै छैन । एकै दिन प्रहरी निरीक्षक भएका उनीहरुमध्ये केही एआइजी हुने र केही आगामी असोज २१ मा डिआइजीको ५ वर्षे सेवाअवधिका कारण घर जानु पर्ने कारणले अति रुष्ट छन् । जसलाई व्यवस्थापन गर्न आईजीपी अर्याललाई हम्मेहम्मे परिरहेको छ ।
यो प्रकरण लम्बिएर १३ जना नै डिआइजी एकै पटक घर फर्कनु परेमा उनीहरुको सबैभन्दा ठूलो शत्रु नै आइजीपी अर्याल हुनेछन् । बढुवा सिफारिसमा पर्न नसकेका र बढुवा सिफारिसमा परेकालाई सहज रुपमा व्यवस्थापन गर्न सक्नु उनको खुवी हुनेछ । प्रकृया लामो नभएर ७ जना एआइजी भएमा पनि आइजीपीले जस पाउने छैनन् । अहिले यसअघिका आइजीपी कुबेरसिंह रानाका पालामा खुवै चर्चा कमाएको प्रहरी सेवाअवधि ३२ वर्ष पु¥याउने खेल सुरु भइसकेको छ । प्रहरी ऐन नै संसोधन गरेर ३२ वर्ष बनाउँदा सबै तहका प्रहरीलाई समान न्याय हुनैपर्छ । यस्तो भएमा आइजीपीलाई अपजस हुँदैन । तर, यसअघि ३० वर्षे सेवाअवधिका कारण घर गएकाहरुले भने आइजीपी अर्याललाई दोष दिने छन् । आफूहरु ३० वर्षमा घर जाने र हालका भने ३२ वर्ष काम गर्ने भन्ने उनीहरुको तर्क हुनेछ । यसले पनि आइजीपीलाई जस दिने देखिन्न ।
उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसँग अर्यालको सहज सम्वन्ध नभएको भन्दै चर्चा चलिरहेको समयमा उनले संगठनको हितका लागि कति अडान राख्न सक्छन् त्यसले उनको साख निर्धारण गर्नेछ । आइजीपी बनेपछि केही सकारात्मक सुधार थालेका अर्यालले जनताको राय लिएर प्रहरी अघि बढ्ने, आर्थिक अधिकार विकेन्द्रीकृत गर्न थालनी, किनमेल र खरिदमा खासै चासो देखाएका छैनन् । जसले उनीबाट केही आशा गर्न सकिने ठाउँछन् । ‘म बोल्दिन, काम गरेर देखाउँछु ।’ उनले आइजीपी बनेको पहिलो सातामै यस संवाददातालाई भनेका थिए, के उनी अब खरेल प्रकरणदेखि एआइजी बढुवा र ३२ वर्षे सेवाअवधि बनाउने खेलमा सन्तुलित भएर काम फत्ते गर्न सक्छन् ? समयले नै देखाउने छ ।
subedigee@gmail.com
Comments are closed.