पद्मश्री मनु ब्राजकीलाई, पद्मश्री साधना सम्मान गौतमलाई

109
  •  
  •  
  •  

काठमाडौं २१ भदौ (ओएनएस) : खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले यस पटकको पद्यश्री सहित्य सम्मान कथाकार मनु ब्रजाकीको कथासङ्ग्रह ‘अन्नपूर्णाको भोज’लाई दिने निर्णय गरेको छ । २०६३ सालदेखि हरेक वर्ष नेपाली साहित्यका वर्षभरि प्रकाशित  उत्कृष्ट कृतिलाई दिन थालिएको पुरस्कारको राशी २ लाख रुपैयाँ छ ।

यसअघि गणेश रसिकको ‘दशगजामा उभिएर’, भानुभक्त पोखरेलको ‘हिमवत्’ खण्ड, कृष्ण बरालको ‘समय हराएको बेला’, धु्रव सापकोटाको ‘अकल्पनीय’ र अमर न्यौपानेको ‘पानीको घाम’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ र रवीन्द्र समीरको ‘अर्जुनदृष्टि’, खगेन्द्र सङ्ग्रौलाको ‘आफ्नै आँखाको लयमा’ र शारदा शर्माको ‘ताप’ पुस्तकले पद्यश्री पुरस्कार पाईसकेका छन् ।

यस्तै, पद्मश्री साधना सम्मान साहित्यकार ध्रुवचन्द्र गौतमलाई दिने निर्णय भएको प्रतिष्ठानले जनाएको छ । झन्डै पाँच दशकदेखि कथा, उपन्यास, नाटक र संस्मरणका माध्यमबाट नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै पद्यश्री साधना सम्मान गौतमलाई दिने निर्णय भएको प्रतिष्ठानको भनाई छ । पद्यश्री साधना सम्मानको पुरस्कार राशी १ लाख रुपैयाँ छ ।

यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार मदनमणि दीक्षित र संस्कृतिविद् सत्यमोहन जोशीले पाईसकेका छन् । दुवै सम्मान कोजाग्रत पूर्णिमाको दिन प्रदान गरिने खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, चितवनले जनाएको छ ।


  •  
  •  
  •