‘डेब्यू’ खेलमै पृथुको शतक

186
  •  
  •  
  •  

काठमाडौं । तीन महिनाका लागि क्लब क्रिकेट खेल्न इङ्ल्यान्ड पुगेका यू-१९ क्रिकेट टोलीका पूर्वकप्तान पृथु बाँस्कोटाले ‘डेब्यु’ खेलमै शतक प्रहार गरेका छन्।

डेब्यु खेलमा उनले अविजित एक सय ४६ रन बनाए। उनकै उत्कृष्ट ब्याटिङका कारण अपचर्च क्रिकेट क्लबले ग्रेभसेन्ड क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्‍यो । केन्ट क्रिकेट लिग डिभिजनअन्तर्गतको उक्त खेलमा पहिले ब्याटिङ गरेको ग्रेभसेन्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ६० रन बनाएको थियो।  अपचर्चका बलर पृथुले दुई विकेट पनि लिए।

जवाफी ब्याटिङमा ओर्लिएको अपचर्चले ४८.१ ओभरमा चार विकेट गुमाएर दुई सय ६५ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो। अपचर्चलाई आकर्षक जित दिलाउन पृथुले एक सय २५ बलको सामना गरी तीन छक्का र १९ वटा चौकासमेत प्रहार गरे।

पृथुसँगै अर्का नेपाली खेलाडी हरिशंकर शाह पनि इङ्ल्यान्ड गएका थिए। पृथु र हरिशंकर आगामी सेप्टेम्बर १ तारिखसम्म बेलायतमा रहने अन्नपूर्ण पोस्टमा खबर छ ।


  •  
  •  
  •