महिमा र भर्त्सनाबीच पृथ्वीनारायण

216
  •  
  •  
  •  

काठमाडौं २७ पुस ।  पृथ्वीनारायण शाह तथा उनका उत्तराधिकारीको तत्कालीन उद्देश्य गोरखा राज्यको विस्तारभन्दा अरू केही थिएन । त्यसलाई राष्ट्रिय एकताको अभियान थियो भनेर ऐतिहासिक महत्त्व दिन खोज्नु गलत हुनेछ । त्यस समयमा नेपाली राष्ट्रियता भन्ने भावना वा कल्पनासम्म पनि थिएन । त्यो त पछि उदय भएको एउटा ऐतिहासिक तत्त्व हो ।’

यो पंक्ति कांग्रेस नेता प्रदीप गिरिद्वारा सम्पादित पुस्तक ‘विश्वेश्वरप्रसाद कोइराला, राजनीतिक अभिलेख’ को पृष्ठ १७६ मा उल्लेख छ । शाहलाई राष्ट्रिय एकताका प्रतीक र श्री ५ बडामहाराजाधिराजका रूपमा पुज्नेहरू एकातिर छन् । बाबा गोरखनाथले दही पिलाउन खोज्दा शाहले खुट्टामा पोखाएको कथामा कहाँबाट किंवदन्ती सकिन्छ र इतिहास सुरु हुन्छ, खुट्टयाउन गाह्रो छ ।

‘गोरखा साम्राज्यका क्रूर राजा’ लाई आधुनिक नेपालमा निषेध गर्नुपर्छ भन्नेहरू अर्कातिर छन् । सामन्ती राज्य विस्तार गर्ने, अरू राज्यको पहिचान निल्ने साम्राज्यवादीका रूपमा उनीहरू शाहलाई बुझ्छन् । बदलिँदो युगसँगै राष्ट्रिय एकताका नयाँ प्रतीकहरू खोजिनुपर्ने उनीहरूको मत छ । अबको नेपालमा एउटा निश्चित शासकमात्रै नायक हुन नसक्ने, बहुनायक खोजिनुपर्ने उनीहरूको माग छ ।

लम्बिँदो संक्रमणकाल र बढदो अन्योलबीच विवादहरू सतहमा छन् । शाहमाथि यतिका सूचना, जानकारी उपलब्ध छन् । एउटा प्रश्न भने थाती नै छ, आखिर को हुन् पृथ्वीनारायण शाह ? यति महत्त्वसाथ आजका मितिसम्म सम्भिmनुपर्ने त्यस्तो के छ उनीभित्र ? बितेर गएको २ सय ४० वर्षपछि पनि समर्थन र विरोधमा सर्वसाधारण बाँडिनुपर्ने त्यस्तो के छ उनीभित्र ?

शाहलाई हेर्नेबारे पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता बाबुराम भट्टराईका धारणा बीपीसँग धेरै हदसम्म मिल्दाजुल्दा भेटिए । बीपी लेख्छन्, ‘१८१६ सालपछि नेपाल देश त बन्यो । नेपाल राष्ट्र बनाउने प्रयत्न भएन । शरीरको ढाँचा त खडा भयो, तर त्यसमा आत्मा आउन सकेन । फ्रम बनाइयो, तर तस्बिर राखिएन । नेपालको सन्दर्भमा एकतन्त्रीय हुकुमी राज्य राष्ट्रियताको घातक हो ।’ (पृष्ठ १७९, उही)

 भट्टराई भन्छन्, ‘इतिहासको त्यो कालखण्डले शाहजस्तो विशिष्ट पात्र माग गथ्र्यो नै । दक्षिण एसियामा अंग्रेज उपनिवेश विस्तार हुँदै गर्दा यहाँका साना राज्य मिलाएर बलियो राज्य बनाउने उनको प्रयास त्यो बेला जस्तो भए पनि नतिजा सही निस्कियो ।’

शाहले गोरखाजस्तो विकट ठाउँको सामान्य आर्थिक हैसियतका राजा हुँदाहुँदै राज्य विस्तार गर्ने महत्त्वाकांक्षा राखेका थिए । काठमाडौंका मल्ल राजाहरू शक्ति र सम्पत्ति दुवैले बलियो अवस्थामा थिए । परस्पर नमिल्ने मल्ल राजाहरूले राज्य विस्तारको पहल गर्ने कुनै छाँट थिएन । अंग्रेजहरू दक्षिण एसियाभरि उपनिवेश फैलाउँदै अघि बढिरहेका बेला शाह साना राज्यहरूको अन्तरविरोध पहिल्याउँदै सीमित सैन्यबल र सामग्रीका भरमा कब्जा गर्दै थिए ।

भट्टराईको भनाइमा छापामार युद्धकलाका माध्यमबाट शाहले त्यत्रो शक्ति आर्जन गर्न सकेका थिए । उनको आक्रमण शैली सैन्यमात्रै थिएन, घेराबन्दी, नाकाबन्दीमा आधारित थियो । ‘शाहको चिन्तन यो भूखण्डमा राज्य विस्तार गर्ने नै थियो, तर यतिमात्रै बुझियो भने अपूरो हुन्छ,’ उनी थप्छन्, ‘यहाँका ससाना राज्यले अंग्रेजसँग अलग-अलग लड्न सम्भवै थिएन । शाहले ठीक यहाँनेर सकारात्मक भूमिका खेले ।’

शाहलाई सामन्त राजा भनी अथ्र्याउँदा त्यस बेलाको समाज कस्तो थियो भनी हेर्नु आवश्यक हुने भट्टराईको धारणा छ । कविला युगको राज्यलाई सामन्ती चरित्र दिन शाहको योगदान रहेको उनी सम्झन्छन् । ‘शाहले सामन्ती केन्द्रीकरणको नेतृत्व गरे । विजयका क्रममा कीर्तिपुरका नेवार, तामाङलगायतको राज्य दख्खल गर्दा अत्याचार भएका छन्,’ भट्टराई भन्छन्, ‘जुनसुकै युद्धमा यस्तो हुन सक्छ । यसलाई सकारात्मक र नकारात्मक परिणामको योगफलबाट मूल्यांकन गर्न सक्नुपर्छ ।’
कान्तिपुरबाट


  •  
  •  
  •