पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छे भुटभुटिएका छन् : प्रधानमन्त्री

454
  •  
  •  
  •  

काठमाडौं, २७ फागुन(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् ।

राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १८ औं वार्षिकोत्सवलाई सोमबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पृथकतावादी समुह सानो भएपनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारे ।

परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो । राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन । यस विषयमा कसैले चिन्ता नगरे हुन्छ ।’

प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुरमुरिएको देखेर आफू आश्चर्यमा परेको बताए ।
‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन्’ प्रधानमन्त्री ओलीले भने,‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पु¥याउने कुरामा जनमत संग्रह गर्ने भन्ने कुरा सोच्न पनि नमिल्ने कुरा हो ।’

प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने बताए ।
‘देशको शान्ती सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधी सरकारलाई मान्य हुँदैनन्’ प्रधानमन्त्री ओलीले भने, ‘कोही मृत संस्था जिवीत गराउने सपना देख्छन्, कोही क्रान्तीका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ति दुवै कुराहरुलाई निस्तेज पारिन्छ ।’

देशको अखण्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन् ।


  •  
  •  
  •