काठमाडौँ, २६ फागुन(ओएनएस) : बेलायती राजकुमार ह्यारी नेपालको पाँच दिने भ्रमणका लागि आगामी चैत ६ गते शनिबार आउने भएका छन् ।
नेपाल-भारतबीच कुटनीतिक सम्बन्धको दुई सय वर्ष पुगेको उपलक्ष्यमा राजकुमार ह्यारीले बेलायती महारानीका तर्फबाट नेपालको भ्रमण गर्न लागेका हुन् । उनले नेपाल भ्रमणको पहिलो दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् भने परराष्ट्रमन्त्री कमल थापाले आयोजना गर्ने कार्यक्रममा उपस्थित हुनेछन् ।
७ गते आइतबार राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन् । यस्तै, उनले भूकम्पले क्षति पुर्याएका पाटनन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्नेछन् । यसक्रममा भक्तपुरमा रेडक्रसले सञ्चालन गरेको आपतकालीन सहयोग र भूकम्पपीडितको अस्थायी शिविरको उनले अवलोकन गर्नेछन् ।
८ गते उनले बर्दिया राष्ट्रिय निकुञ्ज जानेछन् । त्यहाँ उनले नेपालको प्राकृतिक सम्पदा र संरक्षणबारे बुझ्नेछन् भने खौराहा नदीमा र्याफ्टिङ गर्नेछन् । बर्दियाको भ्रमणपछि उनले पोखरामा गोर्खा सैनिकका परिवारसवग भेटघाट गर्ने कार्यक्रम रहेको छ । यस्तै उनले ट्रेकिङ समेत गर्नेछन् ।
९ गते राजकुमार ह्यारीले नेपाल गर्ल समिटको राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त रूपमा उद्घाटन गर्नेछन् । यसपछि भक्तपुरको सानोठिमी टेक्निकल स्कुलको भ्रमणको अवलोकन गरेर कान्ति बाल अस्पतालको भ्रमण गर्नेछन् ।
भ्रमणको अन्त्यमा बेलायती राजदूतावासले आयोजना गरेको रात्रीभोजमा उनी सरिक हुने बेलायती दूतावासले जनाएको छ ।