काठमाडौं, २७ जेठ (ओएनएस) । प्रधानमन्त्री निवास बालुटारमा सोमबार विहान निकै भिडभाड थियो । प्रधानमन्त्री सुशील कोइरालासँग थरी–थरीका माग राख्न विभिन्न समुह मसोमबार वालुवाटार पुगेका थिए ।
प्रधानमन्त्रीको भेटमा सबैभन्दा पहिला मागका सूची लिएर प्रजातन्त्र सेनानी संघका सभापति टंकप्रसाद शर्मा कँडेलको नेतृत्वको टोली पुग्यो । सो टोलीले विभिन्न मितिमा केन्द्रीय कार्यसमितिले गरेको निर्णयलाई आधार बनाएर तीनबुँदे मागपत्र पेस गरेको छ । मागमा सरकारले प्रजातन्त्र सेनानी आयोग वा कार्यदल गठन गर्नुपर्ने, प्रजातन्त्र सेनानी आश्रम बनाउन रकम उपलब्ध गराउनुपर्ने र विज्ञ समूहबाट संविधानसभामा मनोनयन गरिने २६ सभासद्मा दुई जना नेपाल प्रजातन्त्र सेनानी संघबाट राखिनुपर्ने विषय समेटिएको छ ।
प्रतिनिधिमण्डलमा संघका सचिव मित्रबहादुर कार्की, प्रवक्ता बालकृृष्ण दाहाल तथा सदस्य परीक्षितराज पाण्डे, सुरेन्द्रकुमार तिमिल्सिना, त्रिलोचन पौडेललगायतका सहभागी थिए ।
यसपछि पालो आयो चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा कार्यरत वरिष्ठ चिकित्सकको टोलीको । यो टोलीले पनि प्रधानमन्त्री काइरालासमक्ष मागको ठेली थमायो । प्रतिष्ठानमा उपकुलपति, रेक्टर र रजिस्ट्रार तीन जनाको पदावधि सकिएकाले नयाँ नियुक्ति गर्नुपर्ने, पदाधिकारी नियुक्ति गर्नुपर्ने, प्रतिष्ठानको सिनेट र अन्य निकायका पदाधिकारीको पनि पदाधिकार सकिएकाले तुरुन्तै नियुक्ति गर्नुपर्ने लगायत माग राख्यो । प्रतिनिधिमण्डलले ट्रमा सेन्टरको सञ्चालनका सम्बन्धमा पनि उपाय सुझाएको थियो । यसपूर्व नाम्स र वीर अस्पतालको व्यवस्थापन लथालिङ्ग भएकाले ट्रमा सेन्टरको निर्माता भारत सरकारले यसको हस्तान्तरणमा विलम्ब गरेको पनि उनीहरुले बताएका थिए ।
नाम्सअन्तर्गत राखेमा यसमा रहेका विशेषज्ञ चिकित्सकको सेवा पाउन सजिलो हुने भएकाले ट्रमा सेन्टर तुरुन्तै सञ्चालन गर्न सकिने उनीहरुको तर्क छ ।
यसपछि मंगलबारै प्रधानमन्त्रीसँग ब्राह्मण समाजको प्रतिनिधिमण्डलले भेटी समाजमा उत्पीडनको पीडा भोगेका ब्राह्मणका पक्षमा प्रभावकारी कार्यक्रम ल्याउन माग गरेको थियो । यसपछि नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुको नेतृत्वमा गएको सुदूरपश्चिमाञ्चलको प्रतिनिधिमण्डलले भेटी विभिन्न समस्याबारे अवगत गराएको थियो । त्यस्तै नेपाल ब्याट्री व्यवसायी सङ्घको प्रधिनिधिमण्डलले समेत भेटी विभिन्न समस्या अवगत गराएका थियो ।