प्रधानमन्त्री बालुवाटारमै सिमित

288
  •  
  •  
  •  

खेमराज थापा

काठमाडौं, २६ साउन (ओएनएस) :  अस्वस्थ भएपछि प्रधानमन्त्री सुशील कोइराला सरकारी निवास बालुवाटारमै सिमित भएका छन् । फोक्सोमा क्यान्सर भएपछि अमेरिकामा उपचार गराएर साउनको पहिलो साता स्वेदश फर्किएका उनी भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका बेला बालुवाटारबाट बाहिर निस्के पनि त्यसयता उनी बाहिर निस्केका छैनन् ।

susil
susil

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही साउन १८ गते भएको दुई दिने भ्रमणका अवसरमा प्रधानमन्त्री मोदीलाई स्वागत र विदाई गर्न विमानस्थल पुगेका थिए भने, सोल्टी होटलमा आयोजित रात्रिभोजमा पनि गएका थिए । यस्तै १७ गते बसेको मन्त्रिपरिषद्. बैठकका लागि उनी सिंहदरवार पुगेका थिए । साउन ७ गते अमेरिकाबाट फर्केका कोइराला सोमबारसम्म एकपटकमात्र सिंहदरवार छिरेको स्रोतले बतायो । आजभोली मन्त्रिपरिषद् बैठक पनि बालुवाटारमै हुने गरेका छन् । बालुवाटारमै हुने बैठकमा पनि प्रधानमन्त्रीले पूर्ण समय नदिएको सार्वजनिक भइसकेको छ । सचिब बढुवा गर्न बसेको मन्त्रिपरिषद् बैठक कोइरालाले बिचैमा छाडेको बताइएको छ ।

भारतीय प्रधानमन्त्रीको भ्रमणका बेला भेटघाटमा व्यवस्त हुँदा पर्याप्त आराम गर्न नपाएका कोइराला यही २० गतेृबाट पूर्ण आराममा छन् । उनले विशेष अवस्थामा बाहेक कसैले भेटगर्न पाएको छैन । उनका निजी चिकित्सक डा. कविरनाथ योगीले विज्ञप्ती नै जारी गरेर प्रधानमन्त्रीले आराम गरिरहेको बताएका थिए । योगीले कोइरालालाई आराम गर्न भनिएको बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले ओएनएससँग कोइरालाले सामान्य भेटघाट बन्द गरेको पुष्टि गरे । उनले भने, ‘विशेष व्यक्तिहरुलाई उहाँ(कोइराला)ले बालुवाटारमै भेटिरहनु भएको छ । आफू बाहिर जानु भएको छैन ।’ क्यान्सको नियमित जाँचका लागि ३ महिनापछि अमेरिका जाने तयारीमा रहेका कोइराला त्यसअघि नैै अमेरिका जान सक्ने बताइएको छ । उनको स्वास्थ्य अवस्था थप बिग्रे छिटै अमेरिका जानुपर्ने बालुवाटार स्रोतले बतायो ।
प्रधानमन्त्री अस्वस्थ हुँदा सरकारको गती सुस्त भएको भन्दै आलोचना भइरहेको छ ।


  •  
  •  
  •