जायज माग पूरा गर्न सरकार तयार : प्रधानमन्त्री

135
  •  
  •  
  •  

काठमाडौँ, २६ कात्तिक(ओएनएस) : प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

नेपाल संवत ११३६ न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दुई जना सडकमा निस्केर करोडौँ नेपालीको भावना विपरीत माग राखेमा सरकारले सम्बोधन गर्न सक्दैन, नेपाललाई नोक्सान हुने विषयमा सरकारले काम गर्दैन, धेरै जनताले चाहेको माग पूरा गर्न सरकार उदार र फराकिलो छ ।’

नेपालीबाट नेपालकै भूमिमा सुरु भएको नेपाल संवत मौलिक भएको बताउँदै प्रधानमन्त्री ओलीले सामाजिक जीवन सहज र सरल बनाउन नेपाल संवतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । उनले नेपाल इतिहासदेखि नै आफ्नै गौरव र स्वाभिमानमा बाँच्दै आएको बताउँदै नेपालले कहिल्यै अरुको उपनिवेश एवम् पराधीनता नस्वीकारेको स्मरण गरे । उनले भने, ‘नेपालको स्वाधीनता सगरमाथा जस्तै उँचो छ र रहिरनेछ ।’

भूकम्प र संविधान जारी भएपछिको नाकाबन्दीको समस्याबाट मुलुकलाई माथि उठाउन सबै दल एकजुट हुनुपर्नेमा पनि उनले जोड दिएका थिए । यसका लागि नेपाली काँग्रेसलगायत सबै दललाई सरकारमा सामेल हुन उनले आह्वान गरे ।

कार्यक्रममा समितिका अध्यक्ष डा महेशमान श्रेष्ठले विगतमा नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने, शंखधर साख्वाःको हुलाक टिकट प्रकाशन गर्ने लगायतका थुप्रै सराहनीय काम भएजस्तै अबको सरकारले समितिका तर्फबाट विगतमा प्रस्तुत आठ बुँदे मागलाई पनि कार्यान्वयनमा लान तदारुकता देखाउनुपर्ने बताए ।


  •  
  •  
  •