काठमाडौँ, २२ जेठ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला चीनको युनान प्रान्तको कुन्मिङ सहरमा आयोजना हुने दोस्रो चीन दक्षिण एसिया व्यापार मेलामा विशेष अतिथिका रुपमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनी चीन सरकारको निमन्त्रणामा ३३ सदस्यीय भ्रमण टोलीको नेतृत्व गर्दै विशेष विमानबाट चीन प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा विभिन्न राजनीतिक दलका प्रतिनिधि एवम् सभासदहरू, प्रधानमन्त्रीका सल्लाहकारहरू, उच्चपदस्थ सरकारी अधिकारी र चीनका लागि नेपाली राजदूत सम्मिलित छन् ।
प्रधानमन्त्री कोइरालाले चीनमा रहँदा चीनका उपप्रधानमन्त्री वाङ याङलगायत विभिन्न देशबाट आएका आफ्ना समकक्षीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको युनान प्रान्तको कुन्मिङमा यही जेठ २३ देखि २७ गतेसम्म दोस्रो चीन–दक्षिण एसिया व्यापार मेला हुन लागेको हो । दक्षिण एसिया र दक्षिया पूर्वी एसियाका नेताहरू सहभागी हुने उक्त मेलाको उद्घाटन समारोहमा प्रधानमन्त्री कोइरालाले ‘विशेष अतिथि’का रुपमा सम्बोधन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री कोइरालाले मेलामा बनाइएको नेपाली कक्षको उद्घाटन गर्ने कार्यक्रम छ । ८० स्टल रहने उक्त कक्षमा निर्यातयोग्य नेपाली उत्पादनहरू राखिनुका साथै नेपाली वस्तु, संस्कृति र पर्यटनबारे सूचना प्रवाह गर्ने व्यवस्था गरिएको छ । नेपाली सांस्कृतिक टोलीले मेलामा सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्नेछ ।
प्रधानमन्त्री कोइराला शुक्रबार साँझ स्वदेश फर्कनुहुने कार्यक्रम छ ।