उपभोग्य सामग्रीमा अत्यधिक मूल्यवृद्धि

455
  •  
  •  
  •  

महोत्तरी, ५ बैशाख (ओएनएस) : महोत्तरी सदरमुकाम जलेश्वरमा अघोषित रुपमा हरेक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरिएको छ । मधेशी मोर्चाको आन्दोलन स्थगित भएर आपूर्ति सहज भएपछि पनि मूल्य अकासिएपछि उपभोक्ताहरु भारतीय बजारतर्फ थप आकर्षित भएका छन् ।

मोर्चाले फेरि आन्दोलन गर्ने हल्ला भएपछि व्यापारीहरुले भएको सामान पनि लुकाई चर्को मूल्य असुल्न थालेका हुन् । आन्दोलन हुनुअगावै उपभोग्य सामग्रीमा व्यापारीहरुले टाँसेको मूल्यसूची काटेर आफूखुशी २० देखि ५० प्रतिशतसम्म मूल्यवृद्धि गरेका छन् । जुत्ताचप्पलदेखि भाडावर्तन र खाद्यान्नमा समेत मूल्यवृद्धिको प्रभाव देखिएको छ ।

आन्दोलनको बेला घाटा सहेका व्यापारीहरुले आपूर्ति सहज भएपछि मूल्यवृद्धि गरी उपभोक्ताबाट अधिक लाभ लिने गरेकोमा नागरिक समाजले स्थानीय प्रशासनसमक्ष ध्यानाकर्षण समेत गराएको छ । बाध्यताले गर्दा जलेश्वरमा महँगो तरकारी किन्नुपरेको गुनासो गर्दै स्थानीय बिकरु यादवले भने, ‘यहाँ उद्योग वाणिज्य संघको भूमिका नै देखिएको छैन । बरु अन्य सामानहरु किन्न सीमावर्ती मधवापुर बजार जान सजिलो र सस्तो छ ।’

अवैध सटही गर्नेहरुले अहिले एक सय भारतीय रुपियाँ दिँदा १ सय ६४ लिन थालेपछि दिनहुँ सयौँ उपभोक्ता किनमेलका लागि भारतीय बजारतर्फ जाने गरेका छन् । केही दिन अगाडिसम्म अवैध सटही गर्नेले १ सय ७० रुपियाँसम्ममा एक सय भारतीय रुपियाँ बिक्री गर्ने गरेका थिए ।


  •  
  •  
  •