काठमाडौँ, ६ चैत(ओएनएस) : बेलायती राजकुमार ह्यारी पाँचदिने नेपाल भ्रमणको लागि काठमाडौँ आइपुगेका छन् ।
उनी कतार एयरवेजको विमानबाट केहीबेरअघि त्रिभूवन विमानस्थल आइपुगेका हुन् । ह्यारीले नेपाल भ्रमणका क्रममा पोखरा, बर्दियालगायतका स्थानको भ्रमण गर्नेछन् भने केही शिष्टाचार भेट समेत गर्नेछन् ।
उनको भ्रमण टोलीमा बेलायती विदेश राज्य मन्त्री ह्युगो द्वायर तथा बेलायतका पत्रकार गरी ३० जनाभन्दा बढि रहेका छन् ।
ह्यारीले आज बेलुका ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नेछन् । यस्तै, आइतबार बिहान ११ बजे राष्ट्रपपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् । यसका साथै उनले परराष्ट्रमन्त्री कमल थापाले याक एण्ड यति होटेलमा नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापित भएको दुई वर्ष पुगेको अवसरमा शनिबार अपरान्ह आयोजना गर्ने विशेष स्वागत कार्यक्रममा सरिक हुनेछन् ।
ह्यारीले भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार स्क्वायरका मन्दिर र भवनहरुको पुननिर्माणबारे जानकारी लिने कार्यक्रम रहेको छ । उनले भक्तपुर पुगेर बेलायती सहयोग नियोग डिएफआइडीको सहयोगमा निर्मित नेपाल रेडक्रसको आपतकालीन उद्धार तथा आपूर्ति स्थलको अवलोकन गर्ने छन् ।