भारतबाट नेपाल फोन गर्न प्रतिमिनेट ६ रुपैयाँ ५० पैसा मात्र

90
  •  
  •  
  •  

काठमाडौं, ५ कात्तिक (ओएनएस):अव बीएसएनएलका ग्राहकले भारतबाट प्रतिमिनेट ६ रुपैयाँ ५० पैसामा नेपालमा फोन गर्न पाउने भएका छन् । भारत सञ्चार निगम लिमिटेड (बीएसएनएल)ले भारतबाट नेपाल टेलिफोन गर्दा लाग्ने शुल्कमा भारी कटौती गरेपछि यस्तो सुविधा पाउने भएका हुन् ।

बीएसएनएलले यसअघि नेपाल टेलिफोन गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत महशुल कम गरेको हो । यसअघि प्रतिमिनेट १० भारतीय रुपया शुल्क लाग्थ्यो ।

भारत सरकारको स्वामित्वमा रहेको बीएसएनएलले स्पेशल ट्यारिफ भौचर (एसटीभी)को प्याकेजमार्पmत शुल्क कटौती गरेको हो । यो प्याकेज खरीदकर्ताले मात्र कम शुल्कमा नेपाल टेलिफोन गर्न सक्नेछन् । यो प्याकेजको मूल्य १८ भारतीय रुपयाँ पर्छ ।

भारतीय प्रधानमन्त्री कार्यालयले जारी गरेको पत्रको आधारमा गत बुधवारदेखि लागू हुने भइसकेको बीएसएनएलका निर्देशक अनुपम श्रीवास्तवलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले जनाएको छ ।
यता भारतका एयरटेल तथा भोडाफोनका प्रयोगकर्ताले अहिले नेपाल फोन गर्दा प्रतिमिनेट १२ भारतीय रुपया तिर्ने गर्छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत साउनमा भएको नेपाल भ्रमणमा उनले नेपाल र भारतबीच हाल कायम रहेको टेलिफोन घटाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । भारतमा ठूलो संख्यामा नेपाली बस्दै आएकाले सस्तो टेलिफोन शुल्क कायम हुनु आवश्यक रहेको उनले त्यतिबेला बताएका थिए ।

भारतको टेलिकम विभागले अवको २ हप्ताभित्रै अन्य टेलिकम कम्पनीहरूसँग समेत शुल्क घटाउने विषयमा छलफल गर्ने भएको छ । यसअघि भएको छलफलमा त्यहाँका टेलिकम कम्पनीहरूले नेपालका सेवाप्रदायकलाई ‘अन्तरआबद्धता शुल्क’ घटाउन लगाउनुपर्ने सुझाव दिएका थिए । यसका लागि छुट्टै नियमनको आवश्यकता हुनुपर्ने उनीहरूको भनाइ छ ।

हाल भारतीय टेलिकम सेवाप्रदायकले भने ४० पैसा मात्र आबद्धता शुल्क लिने गर्छन् । यो नेपालको भन्दा ४ रुपैयाँ ६० पैसाले कम हो । नेपालमा भने सो शुल्क ५ रुपैयाँसम्म रहेको छ ।


  •  
  •  
  •