सद्भावना पार्टीद्वारा अलग्गै आन्दोलनका कार्यक्रम घोषणा

140
  •  
  •  
  •  

काठमाडौँ, १८ पुस(ओएनएस) : मधेसी मोर्चामा आबद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले अलग्गै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सद्भावना पार्टीले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । पार्टीका अध्यक्ष राजेन्द्र महतोले दुईदिनअघिको मितिमा एक अपिल जारी गर्दै पुस १९ गतेदेखी २७ गतेसम्मको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । महतो भने अहिले नयाँ दिल्लीको मेदान्त अस्पतालमा उपचाररत छन् ।

सद्भावना पार्टीका आन्दोलनका कार्यक्रम अनुरूप १९ गते धार्मिक वा सार्वजनिक स्थलमा प्रार्थना सभा गर्ने, २० गते १२ बजेदेखी १ बजेसम्म एक घन्टा मौन ब्रत गर्ने, २१ गते आन्दोलनका नारासहित भित्ते लेखन गर्ने, २२ गते साइकल, मोटरसाइकल, रिक्सा, ठेलामा कालो झण्डा राख्ने र हातमा कालो पट्टी बाँध्ने र २३ गते शहिदको सम्झनामा मैनवत्ती बाल्ने कार्यक्रम छ ।

२४ गते भारतसहित विश्वभर रहेका आफन्तलाई मधेस आन्दोलनबारे इमेल, सामाजिक सञ्जालमार्फत जानकारी दिने, २५ गते अन्य दलका सांसदलाई पार्टी छाडेर आउन दबाव दिन हस्ताक्षर संकलन गर्ने, २७ गते मधेस आन्दोलन १५० दिन पुगेको दिन एक दिन उपवास बस्ने कार्यक्रम छ ।

महतोलाई शुक्रबार दिल्ली लैजानु अघि नै नै कार्यक्रम बनेर उनले हस्ताक्षर गरेको महासचिव सुमनले बताए ।


  •  
  •  
  •