बोक्सी भन्दै किशोरी कुट्नेलाई कडा कारबाही गर्न गैससकाे माग

355
  •  
  •  
  •  

बर्दिया , २८ फागुन (ओएनएस) : बर्दियामा गैसस महासंघ र करिब डेढ दर्जन गैर सरकरी संस्थाहरुले बोक्सी भन्दै किशोरीलाई कुटपिट गर्नेविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्।

कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ देउकलीमा २०७४ फाल्गुण २४ गते बोक्सीको आरोपमा स्थानीय २० बर्षिया राधा चौधरीमाथि गाँउलेहरुको उपस्थितिमा स्थानीय राम बहादुर चौधरी लगायतका व्यक्त्तिहरुले निर्घात कुटपिट गरेको घटनाप्रति बर्दियाका गैससले अाइतबार विज्ञप्ति जारी गरी ध्यानाकर्षण भएको जनाएको हो।

राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा महिला हिंसा विरुद्ध लड्ने उदघोषका साथ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाई रहेको बेला समाजका अन्धविश्वास र कानूनी रुपमा दण्डनीय रहेको बोक्सीको आरोप लगाउदै राधामाथि गरिएको कुटपिट र दुरव्यवहारको घटनाले नेपाली समाजप्रति राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा नकारात्मक संन्देश गएको जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त्त घटनामा स्थानीय स्तरको जनसमुदाय मुकदर्शक भएर बस्नुले नेपाली समाजको चेतनाको स्तर र अन्धविश्वास चरित्रको पनि उजागर भएको छ ।समाजको नेतृत्व गर्ने जनप्रतिनिधि तथा स्थानीय प्रहरी समेत दोषीलाइ कारबाही गराउनुको सट्टा घटना दबाउन प्रयास गरेकोले समाजमा विद्यमान महिला हिंसा प्रतिको संबेदनहीनतालाई स्पष्ट पारेको छ ।

राधालाई गुरुबा भनिने रामबहादुर चौधरीले आफ्नो घरमा भएको पूजामा नआएको भन्दै बोक्सीको लान्छना लगाएर मरणासन्न हुने गरी कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएकी किशोरीको सेती अञ्चल अस्पताल कैलालीमा उपचार भइरहेको छ।

बर्दियाका गैससले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोक्सी भन्दै लगातार ६ घन्टासम्म कुटपिट हुनु जस्तो अमानविय घटना घटेकोमा घोर भर्त्सना गर्दछौं। साथै उक्त घटनाको मुख्य अभियुक्त आफूलाई भोले बाबा बताउने रामबहादुर चौधरीलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न र पीडित युवतीको उपचारको सम्पूर्ण व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौं।’

बर्दियाका गैससले उक्त घटनामा सहभागी हुने र उक्त कार्य गर्न उक्साएर सहयोग गर्नेहरुलाई पनि कानुनको दायरामा ल्याउन माग गरेको छ।

‘२१औं शताब्दीमा पनि १८ औं शताब्दीको जस्तो बर्बरता र घृणित कुरितिका विरुद्ध सशक्त र प्रभावकारी रुपमा जनचेतनाका कार्यक्रम संचालन गर्नुका साथै यस्ताकार्य निरुत्साहित गर्न प्रदेश सरकारसँग आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

बर्दिया स्थित रहेका गै.स.स महाँसंघ,नेपाल पत्रकार महाँसंघ, सिजनशिल समाज नेपाल, कमैया महिला जागरण संघ केन्द्रिय,जिल्ला भूमि अधिकार मंन्च, कारितास बर्दिया, श्री जलजला कृषि सहकारी संस्था लि., सुनौलो महिला बिकास बहुउदेश्यीय स. स. लि.,आदिबासी जनजाती पत्रकार महाँसंघ,प्रेश कल्व नेपाल, महिला उत्थान केन्द्र,उपाध्यक्ष, थारु पत्रकार महाँसंघ, सहयोगी हात नेपाल, न्यु नेपाल बर्दिया र बेस बर्दिया सिभिलले संयुक्त रुपमा उक्त घटना प्रति ध्यानकार्षण भएकाे भन्दै प्रेस विज्ञप्ती जारी गरेको हो।


  •  
  •  
  •