इयु-भारतलाई नेपालको जवाफ : आन्तरिक मामलामा हस्तक्षेप नगर

649
  •  
  •  
  •  

काठमाडौँ, १८ चैत(ओएनएस) : विदेश मन्त्रालयले भारत-इयुले निकालेको संयुक्त विज्ञप्तिप्रति खेद व्यक्त गरेको छ ।

विदेश मन्त्रालयले मंगलबार इयु-भारतले बेल्जियमको ब्रसेल्समा भएको १३ औँ इयु-भारत सम्मेलनपछि जारी गरेको संयुक्त विज्ञप्तिमा नेपालको संविधानका बारेमा टिकाटिप्पणी गरिएपछि त्यसप्रति खेद व्यक्त गर्दै बुधबार विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा मन्त्रालयले नेपालले प्रजातान्त्रिक पद्धतीबाट संविधानसभाबाट संविधान जारी गरेको उल्लेख गर्दै नेपालको संविधानप्रति टिकाटिप्पणी गर्नु अन्तराष्ट्रिय कानुन विपरितको काम भएको उल्लेख छ । विदेश मन्त्रालयले इयु-भारतको संयुक्त वक्तव्यले नेपाली जनताको भावनामा ठेस पुर्‍याउने काम मात्र नभई एक राष्ट्रले अर्को राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने अन्तराष्ट्रिय कानुन विपरित कार्य गरेको जनाएको छ । सरकार र नेपाली जनता संविधानतः आफ्नो समस्या समाधान गर्नका लागि आफै सक्षम भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२०६३ सालमा शान्ति प्रक्रियालाई टेकेर देशमा संविधान जारी भएको छ र संघीय तथा गणतान्त्रिक प्रक्रियालाई लोकतान्त्रिक विधीबाट संस्थागत गरेको छ । संविधान निर्माण र संविधान जारी गर्ने प्रक्रिया सम्पूर्ण रुपमा आन्तरिक विषय हो । नेपाल अब राजनीतिक स्थायित्व र आर्थिक विकासको बाटोमा अगाडि बढिरहेको छ ।’

इयु-भारत सम्मेलनपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा नेपालको संविधानलाई दिगो र समावेशी बनाउन राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने विषयलाई सम्बोधन गर्नुपर्ने उल्लेख गरिएको थियो । उक्त विज्ञप्तिमा नेपालको संविधान अपूर्ण रहेको संकेत गर्दै थाती रहेका राजनीतिक विषयको सम्बोधन गर्न समयसीमा तोकेर काम गर्नुपर्ने उल्लेख गरिएपछि नेपालले यसको जवाफस्वरूप यो विज्ञप्ति जारी गरेको हो ।

सम्बन्धित समाचार:

नेपालले संवैधानिक मुद्धालाई सम्बोधन गरोस् : इयु-भारत सम्मेलन


  •  
  •  
  •